काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चार्टर्ड एकाउन्टेन्ट (सिए)को उपाधि प्राप्त गरेका व्यक्तिलाई लामो समयदेखि दिँदै आएको समकक्षता रोक्दा सयौं सिएहरु अवसरबाट वञ्चित भएका छन् । त्रिविको पछिल्लो कदमबाट आफूहरु उच्च शिक्षा अध्ययन र विभिन्न अवसरहरुमा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएको प्रभावितको गुनासो छ ।

विगतमा त्रिविले समकक्षता दिने बेलामा कलेज भर्ना भई स्नातकोत्तर तहको परीक्षा उत्तीर्ण गरेका व्यक्तिको प्रमाणपत्र रोकिएको छ ।

त्रिविले बिनासूचना यसअघि दिँदै आएको समकक्षता रोकेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले जनाएको छ । संघका अध्यक्ष आनन्द शर्मा वाग्लेका अनुसार एक वर्ष अघिसम्म नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान), भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया लगायत नियमनकारी निकायबाट चार्टर्ड एकाउन्टेन्ट उपाधि लिएका विद्यार्थीलाई त्रिवि अन्तर्गतका कलेजहरुले स्नातकोत्तर तहमा भर्ना लिन्थे । त्रिविले मान्यता दिएका विद्यार्थीलाई नेपालका अन्य विश्वविद्यालयले पनि भर्ना लिन्थे ।

सिएको उपाधि भएपछि लोकसेवा आयोगले स्नातक वा सोसरह उत्तीर्ण भनी शैक्षिक योग्यता तोकेका पदको लागि हुने परीक्षामा सहभागी भएर सरकारी, सरकारी संस्थान लगायत अन्य निकायको सेवामा प्रवेश गर्न पाइन्थ्यो । त्रिविले समकक्षता रोकिदिँदा यस्ता अवसरबाट सयौं सिएहरु वञ्चित भएको अध्यक्ष वाग्लेले गुनासो गरे ।

‘त्रिभुवन विश्वविद्यालयले समकक्षता दिन छाडेपछि सयौं सिएहरु रोजगारी, संस्थागत नियुक्ति, थप उच्चशिक्षा अध्ययन, अनुसन्धान लगायत अवसरबाट वञ्चित भएका छन्,’ अध्यक्ष वाग्लेले भने ।

समकक्षता पाउने समयमा भर्ना भएर स्नातकोत्तर तहको परीक्षा पास गरेका विद्यार्थीको प्रमाणपत्र र ट्रान्सकृप्ट रोकिएको छ । तिनैमध्येकी एक हुन्, कोटेश्वरकी रितिशा शर्मा । उनले त्रिवि अन्तर्गतको शंकरदेव क्याम्पसबाट एमबिएस उत्तीर्ण गरे पनि समकक्षताकै कारण प्रमाणपत्र नपाएको गुनासो गरिन् । भारतबाट चार्टर्ड एकाउन्टेन्ट उपाधि लिएपछि सन् २०१७ मा शंकरदेव भर्ना भएको उनले जानकारी दिइन् । अहिले सबै परीक्षा उत्तीर्ण गरेर प्रमाणपत्र लिन जाँदा नपाएको शर्माको गुनासो छ ।

संघले समकक्षता रोक्नुको कारण माग गरे पनि त्रिविले स्पष्ट जवाफ दिएको छैन । संघले गत असोज २९ गते सिएहरुले पाइरहेको समकक्षता रोक्नुको कारण माग्दै त्रिविको सूचना तथा जनसम्पर्क महाशाखामा पत्र बुझाएको थियो । महाशाखाले सोको जवाफ नदिएपछि संघले पुनः मंसिर १४ गते अर्को पत्र बुझायो । त्रिविले त्यसलाई पनि बेवास्ता गरेपछि संघले गत पुस २१ गते सोही व्यहोराको पत्र त्रिविका उपकुलपतिको कार्यालयमा बुझाएको छ । कुनै पनि पत्रको जवाफ नआएपछि संघले पुस १ गते राष्ट्यि सूचना आयोगमा त्रिविले सूचना नदिएको गुनासो दर्ता गराएको छ ।

‘म एमबिएस भर्ना हुने बेलामा सिएले समकक्षता गराउनु पर्दैनथ्यो । सोही अनुसार शंकरदेवले भर्ना लियो,’ शर्माले भनिन्, ‘अहिले टियू रजिस्ट्रेसन नम्बर नभएको भन्दै प्रमाणपत्र दिइएको छैन ।’

संघका महासचिव तेज सुवेदी त्रिविले एक वर्षअघिसम्म दिइरहेको समकक्षता बिनासूचना रोकेको बताउँछन् । उनका अनुसार एक वर्ष अघिसम्म त्रिविले सिएलाई स्नातक सरहको र सिएका अतिरिक्त स्नातक तहको बिबिएस वा बिबिए समेत उत्तीर्ण गरेकालाई स्नातकोत्तर सरहको समकक्षता दिइरहेको थियो ।

त्रिविले समकक्षता नदिएसम्म सिएहरु शैक्षिक योग्यता तोकिएका सरकारी र राजनीतिक नियुक्तिको अवसरबाट पनि वञ्चित हुनेछन् । संघका अध्यक्ष वाग्ले त्रिविले गरेको समकक्षता स्थगनले सिएहरुलाई विदेश पलायन हुन बाध्य पार्ने आशंका गर्छन् । त्रिविले समकक्षता रोकेसँगै विदेशी विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना हुने क्रम बढिसकेको उनले जानकारी दिए । ‘यसले एकातिर विद्यार्थीले दुःख पाउँछन्, अर्कातिर स्वदेशमै बस्ने पैसा विदेश जान्छ,’ शर्माले आर्थिक पेजसँग भने, ‘यही अवस्था रहिरहे त्रिविले विदेशी विश्वविद्यालयबाट स्नातकोत्तर गरेर फर्किने सिएलाई पनि समकक्षता दिँदैन, त्यसो भयो भने उनीहरुले पनि त्रिविको डिग्रीलाई मान्यता दिने विषयमा सोच्न सक्छन् ।’

संघले समकक्षता रोक्नुको कारण माग गरे पनि त्रिविले स्पष्ट जवाफ दिएको छैन । संघले गत असोज २९ गते सिएहरुले पाइरहेको समकक्षता रोक्नुको कारण माग्दै त्रिविको सूचना तथा जनसम्पर्क महाशाखामा पत्र बुझाएको थियो । महाशाखाले सोको जवाफ नदिएपछि संघले पुनः मंसिर १४ गते अर्को पत्र बुझायो । त्रिविले त्यसलाई पनि बेवास्ता गरेपछि संघले गत पुस २१ गते सोही व्यहोराको पत्र त्रिविका उपकुलपतिको कार्यालयमा बुझाएको छ ।
कुनै पनि पत्रको जवाफ नआएपछि संघले पुस १ गते राष्ट्यि सूचना आयोगमा त्रिविले सूचना नदिएको गुनासो दर्ता गराएको छ ।

यता, त्रिवि, शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले गत माघ २ गते संघलाई लेखेको पत्रमा ‘त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद १४ मा शैक्षिक तथा प्राज्ञिक संस्थाहरु तथा तिनका प्रमाणपत्र वा उपाधिहरुलाई मान्यता तथा समकक्षतासँग सम्बन्धित कुराहरु मात्र उल्लेख भएको, त्यसमा पेसागत पाठ्यक्रमसँग सम्बन्धित प्रमाणपत्रको सकमक्षतासम्बन्धी कुरा उल्लेख नभएको र सिएको पाठ्यक्रम पनि पेसागत नै भहेकोले २०७७ पुस २७ गतेको समकक्षता निर्धारण बोर्ड बैठकको निर्णय बमोजिम यस्ता प्रमाणपत्रहरुको समकक्षताका सम्बन्धमा स्पष्ट राय उपलब्ध गराउन अनुरोध गर्दै त्रिवि, व्यवस्थापन संकाय, डिनको कार्यालयमा पत्राचार गरेको’ उल्लेख छ । सो पत्रमा डिनको कार्यालयबाट निर्णय भई जानकारी आएपछि संघले मागेको सूचना दिन सकिने पनि उल्लेख छ ।

सिएको हकमा नियमनकारी निकायले दिएको पेसागत डिग्रीलाई विश्वविद्यालयहरुले समकक्षता दिने चलन विश्वभर छ । त्रिविले पनि त्यसै गर्दै आएको थियो । त्रिविले मान्यता दिएका अन्य मुलुकका विश्वविद्यालयहरुले सिएलाई समकक्षता दिइरहेको अध्यक्ष वाग्ले बताउँछन् ।
संघ यो मुद्दा शिक्षा मन्त्रालय पनि पुगेको छ । संघको पहलपछि मन्त्रालयको निर्देशनमा त्रिविले पाठ्यक्रम म्यापिङ गर्न अध्ययन गर्न समिति गठन गरेको महासचिव सुवेदी बताउँछन् । (प्रशिक्षार्थी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय