काठमाडौं- ‘व्यापारी पनि कवि हुन्छ र ? उसले पनि गीत लेख्न सक्छ र ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन्छ । पैसा छँदैछ, पुस्तक त छपाएर बजारमा ल्याए भैगो नि !’
सुरु–सुरुमा वसन्त चौधरीका सिर्जना बजारमा आउँदा कतिपयले यस्तै प्रतिक्रिया दिन्थे रे । ‘नले सुनाए, ‘नेपाली दाजुभाइमा यस्तोसम्म सोच पाएँ । बडो अचम्म लाग्थ्यो । खिन्न हुन्थें, बिचलित भइनँ । तर बजारले कुरा काटिरह्यो, मैले मेरो कर्म छोडिन, गरिरहें,’ व्यवसायी वसन्त चौधरीले आफ्नो साहित्य यात्राका सुरुआती दिनको स्मरण गर्दै भने, ‘म लेख्न सक्छु, म पनि साहित्य सिर्जना गर्न सक्छु भनेर नेपाली साहित्य आकाशमा विश्वास दिलाउन मलाई धेरै संघर्ष गर्नुपर्यो ।’
हुन पनि हो । कुनै व्यक्तिको व्यवसाय या पेसा हेरेर ऊप्रतिको धारणा बनाउने मानिस समाजमा अहिले पनि प्रशस्त भेटिन्छन् । सबैसँग भावना, सिर्जना हुन्छ र सबै मानिसले सबै प्रकारको सम्भावना बोकेको हुन्छ भनेर नसोच्ने प्रवृत्तिले चित्त दुखाएको अनुभव महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर रासससँग गरिएको साहित्य संवादमा चौधरीले सुनाए ।
व्यापारिक घरानाको व्यक्ति साहित्यमा कसरी आकर्षित भए त ? स्कुल पढ्दैदेखि कविता, गीत लेख्न मन पराउने उनको साहित्यिक यात्रा त्यस्तै ३० को दशकबाट सुरु भएको हो । ‘त्यस्तै २०२८–२९ सालमा मैले अध्ययन गरिरहेको विद्यालयको अभिभावक दिवसमा एउटा कविता लेखेको सम्झन्छु । पछि फुटकर कविता लेख्थेँ तर सक्रिय थिइनँ । त्यस्तै ३०–३१ को उमेरदेखि किन–किन मलाई आफूभित्रै एक किसिमको उकुसमुकुस हुन थाल्यो । मलाई लाग्यो मभित्र केही छ, त्यो गुम्सिएर रहेको छ र त्यसलाई बाहिर निकाल्नुपर्छ । मेरो एक मनले त्यो छट्पटाहट महसुस गर्दथ्यो र मभित्रको अर्काे मनले त्यसलाई अभिव्यक्त गर्नुपर्छ, बाहिर निकाल्नुपर्छ भनेर सुझाउँथ्यो,’ चौधरी भन्छन् ।
उनीभित्रका यी दुई मनको द्वन्द्वपछि उनको हृदयभित्रको त्यो उकुसमुकुस गीत बनेर जन्मियो । यसरी गीतबाट सुरु भयो उनको साहित्यिक यात्रा ।
तर गीत बाहिर भने आएनन् । डायरीमा लेख्ने, थन्काउने गरे । ‘म डायरीमा लेखेर राख्थेँ । नेपालको फराकिलो साहित्यिक आकाशमा मेरा रचना कस्ता हुने हुन्, मानिसले कसरी लिने हुन् भन्ने लाग्थ्यो । दीपक जंगम, दीपक खरेल, शम्भुजीत बाँस्कोटासँग गीत–संगीतका कुरा हुन्थे, हामी समय–समयमा भेट्थ्यौं । एक दिन दीपक जंगमले मेरो डायरी पल्टाएर हेर्नुभयो । केही गीत, कविता पढेपछि उहाँले ‘यस्तो साहित्यलाई लुकाएर राख्नु भनेको साहित्यकै अन्याय हो’ भने । उनले डायरीका केही गीत छाने र कम्पोज गर्छु भनेर लगे । ‘माया बल्झेछ’ भन्ने एल्बम नै निस्कियो । त्यसैमध्येको एउटा गीत ‘गरुँ कि मीठो भुल’ धेरै चर्चित भयो । तर गीतकार म भन्ने धेरैलाई थाहा भएन । त्यो गीतको ‘रेस्पोन्स’ले मलाई यस क्षेत्रमा कलम चलाउन आत्मबल दियो । पछि म्युजिक भिडियोमा आएपछि गीत बढी चर्चित भयो । त्यसपछि मात्र मानिसहरूले मलाई चिन्न थाले,’ उनले सुनाए ।
चौधरीले आफ्नो एउटा गीत यसरी सुनाएः
अनुहारको हाँसोदेखि खुसी ठान्नेहरू
बाहिरी ओठ मुस्कुराउँदा सञ्चो मान्नेहरू
हृदयमा चिहाइ हेर कति आगो बल्छ
हालचाल छाप मेरा खबर लेख्नेहरू ।
यो त्यस्तै २०४८ सालतिर लेखेको गीत हो । गीतका शब्द हेर्दा त्यही सुरुकै उकुसमुकुसको समयको जस्तो लाग्छ र उहाँको मनभित्रको बाँध फुटाउन खोजेको सन्देश दिन्छ । आफ्नो मनको छट्पटी मिडियामार्फत संसारमै फैलियोस् भन्ने याचनासमेत छ गीतमा । हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै गीतले आग्रह गरेको छ । पछि यो गीत रेकर्ड पनि भयो, दीपक जंगमले संगीत भरेर दीपक खरेलले गाए ।
चौधरी भन्छन्, ‘त्यसपछि पहिलो कविता संग्र्रह निकालेँ छोरीको नाममा ‘मेघा’ । त्यसबेला पनि केहीले ‘पैसा छ देखायो होला’सम्म भने । पछि जब द्वन्द्वकालमा ‘शान्ति लुकाउँ कहाँ’ भन्ने गीतले प्रसिद्धि पायो त्यसपछि बल्ल मानिसहरूले यसको कलम बलियो रहेछ भन्न थालेका हुन् ।’
मानिसले अँगालेको पेसा हेरेर मात्र उसको मूल्याकन गर्न नहुने उनको सुझाव छ । उनी भन्छन्, ‘मैले आफूलाई साहित्यकर्मीका रूपमा चिनाउन, उभ्याउन र विश्वास दिलाउन मात्र कम्तीमा १५ वर्ष लाग्यो । मैले मसँग सिर्जना छ, लेख्न सक्छु भनेर यसरी पनि पुष्टि गर्नुपर्यो । त्यसैले मेरो विनम्र अनुरोध यो छ कि मानिसले अँगालेको पेसा हेरेर मात्र मूल्यांकन नगरौँ । कसैकाप्रति सोच्नुपर्दा सुरुमै नकारात्मक नबनौँ, नसोचौँ । सबैसँग सबै प्रकारको सम्भावना र क्षमता छ भनेर सम्मान गरौँ ।’
समय व्यवस्थापन
सबैलाई एक दिनमा उही २४ घण्टा नै हो । धनी, गरिब, साना–ठूलालाई समय धेरै र थोरै हुँदैन । त्यही २४ घण्टालाई कतिले यसरी व्यवस्थापन गर्छन् कि उनीहरू आफ्नो नियमित पेसाका साथै अर्काे क्षेत्रमा पनि चम्केका हुन्छन् । समय व्यवस्थापनको कुरा गर्दा एकपटक वरिष्ठ चिकित्सक भोला रिजालले भनेका थिए, ‘प्रायः पत्रकारले मलाई सोध्ने पहिलो प्रश्न यही हुन्छ, आखिर मसँग पनि उही दिनमा २४ घण्टा न हो ।’
नसोधुन् पनि किन ? उनीसँग स्वास्थ्य जाँच गराउन कहिले त बिरामीले महिनौँ कुर्नुपर्छ । प्रायः दिनभर बिरामीकै सेवा भेटिने उनका चलचित्र मात्र छैनन्, नेपाली लोकगीतदेखि लिएर मुक्तिनाथ भजनमालाका शृंखला पनि छन् । समय निकालेर पुस्तक पनि लेख्नुहुन्छ । यसकारण पनि समय व्यवस्थापनको उहाँको कला अरुले जान्न, सिक्न खोज्नु स्वाभाविकै हो ।
साहित्यकार चौधरीको अनुभव छ, ‘समय व्यवस्थापनको कुरा गर्दा आफू ‘सोसियलाइज’ छैन भन्दा हुन्छ । किनभने म पार्टी, भोज आदिमा अति आवश्यक र उपस्थित भइदिनैपर्ने बाहेक जान्न । बिहान म चाँडै उठ्छु र लेखपढको काम प्रायः बिहानै गर्ने गर्दछु । बिहानको समय मलाई ‘फ्रेस’ लाग्छ । तर पनि साहित्य लेख्न यही नै समय हो भन्ने छैन । ‘मुड’ आयो भने कार्यालय बसिरहेका बेला पनि लेख्छु । पहिले त लेख्न कलम कागज नै चाहिन्थ्यो । तर अहिले प्रविधिले पनि लेखपढको कामलाई सहज बनाइदिएको छ । केही कुरा मनमा फुर्यो भने राति सुतेका बेला, यात्रामा या बिहान जुनै बेला पनि हातको मोबाइलमा नोट गर्छु । नोटमा ‘थिम’ संकलन गर्न सक्यो भने पछि फुर्सदमा मिलाएर लेख्छु ।’
साहित्य कि व्यापार ?
ठूलो व्यापारिक घरानाको व्यक्ति साहित्यमा किन लागेको होला, समय कसरी निकालको होला ?
जवाफमा चौधरी भन्छन्– कर्म क्षेत्र त मेरो व्यापार नै थियो, मैले लाग्नुपर्ने पनि यसमै थियो, लागेँ । किनभने मसँग योबाहेक अरु के गर्ने भन्ने विकल्प पनि थिएन । तर व्यापार गरेर रमाउन म कहिल्यै सकिन । त्यस्तो स्वभाव मेरो सानैदेखि रहन सकेन । कहिल्यै अर्काको समस्या, दुःख देख्न नसक्ने स्वभाव थियो । कसैका दुःख, पीडाका कथाले मलाई छोइहाल्थ्यो । हरेक कर्मको आफ्नो धर्म, आचरण हुन्छन् । व्यापारको पनि छ नै । व्यापारको उद्देश्य नाफा कमाउनु त हो तर नाफामात्र कमाउनका लागि मैले व्यापार गरिनँ । त्यसैले पनि कहिलेकाहीँ त म व्यापार गरेर खान्न अर्थात् म व्यापारका लागि जन्मिएको होइन भन्ने लाग्दथ्यो मनैदेखि । मेरो पेसा र घरानाले नखोज्ला तर मभित्रको मनले व्यापारबाहेक अर्काे कुनै विकल्प नखोजेको होइन ।
यसकारण पनि बेला–बेलामा उनले व्यापारको विकल्प खोज्थे । विकल्प नभएपछि उनले सबैसँग समुदायमा पुग्ने र सेवा पनि गर्ने खालको व्यवसाय रोजे । व्यवसाय पनि होस् र त्यसले मानव सेवा पनि गरोस् भन्ने लाग्थ्यो । त्यसैले स्वास्थ्य, कृषि आदिजस्ता क्षेत्रमा व्यवसाय गर्न उनको मन गयो ।
पैसा के हो ? मानिसलाई यो कति चाहिन्छ ? चौधरी गम्भीर हुँदै जवाफ दिन्छन्– पैसा केबल जीवन जिउने, दिन काट्ने साधन हो । उनी पैसालाई योभन्दा ठूलो महत्वाकांक्षासँग दाज्दैनन् । भन्छन्, ‘पैसा नभई पनि हुँदैन र बढी भयो भने पनि त्यसले विकृति ल्याउँछ । त्यसैले आधारभूत आवश्यकता पूरा गर्ने हिसाबले मात्र पैसा कमाए पुग्छ । आफूसँग यतिमात्र पैसा होस् कि यस्तो पैसाले आफूलाई र आफ्नो भोलिको सन्ततिलाई पनि अनुशासित बनाओस्, कर्मशील बनाओस् । ताकि मैले कमाएको पैसाले भोलिको पुस्ताले मेरो त छँदैछ नि भनेर घमण्ड नगरोस् । मलाई केही नगरी खान पुग्छ भनेर हात खुम्च्याएर बस्ने अवस्था नबनाओस् । बरु आफैँले केही गर्नुपर्छ, केही आर्जन गर्नुपर्छ भनेर कर्मशील बन्न सकोस् । हरेक मानिसले कर्म गरोस् र आफ्ना खाँचो र अत्यावश्यकताको जोहो गरोस् ।’
त्यसो भए सन्तुष्टि केमा मिल्दैछ त, साहित्य या व्यापार ? उनलाई सन्तुष्टि अहिले साहित्यले दिएको छ । अहिले साहित्यमा रमाउँदै छु भन्छन् । उनलाई पैसाभन्दा पाठक कमाएजस्तो लाग्छ । भन्छन्, ‘व्यापार भनेको घाटानाफाको कुरामात्र हो । तर मैले कुनै साहित्यिक रचनामा प्राप्त गरेको स्याबासी या खुसीको मापन गर्ने हो भने व्यापारमा भन्दा बढी छ । आत्मानन्द अहिले साहित्यमा लिँदैछु । लेख्दा, त्यो पढ्दा या सुनाउँदा आनन्द आउँछ । पुस्तक छापेर आमपाठकमा पुर्याउँदा र त्यसबाट ठूला साहित्यकार तथा विद्वानहरूले मेरा रचनाका अक्षर–अक्षरका केस्रा केलाएर अथ्र्याइदिँदा झनै खुसीको अनुभूति हुन्छ । आखिर जीवन सन्तोषमा जिउनु न रहेछ ।’ अहिले म साहित्य र व्यापार दुवैमा छु । अहिलेका लागि दुवै हो । खुसीको पाटोचाहिँ साहित्य हो ।









