काठमाडौं– संयुक्त राष्ट्रसंघको एउटा नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्ता विश्वको सबैभन्दा ठूलो सहर बन्न पुगेको खुलासा गरेको छ । जकार्तामा ४ करोड १९ लाख मानिसको बसोबास छ । प्रतिवेदनमा ३ करोड ६६ लाख मानिसको बसोबास रहेको बंगलादेशको राजधानी ढाकालाई दोस्रो ठूलो सहरको रुपमा परिभाषित गरिएको छ ।
उच्च जनघनत्व भएको जाभा टापुको पश्चिममा अवस्थित समुद्र सतहबाट निकै कम उचाइमा रहेको तटीय सहर जकार्ताले दोस्रो स्थानबाट उक्लेर जापानको राजधानी टोकियोको ठाउँ लिएको हो । सन् २००० मा प्रकाशित संयुक्त राष्ट्रसंघको मूल्यांकनमा टोकियोलाई विश्वको सबैभन्दा ठूलो सहर भनिएको थियो ।
टोकियोको ३ करोड ३४ लाख जनसंख्या तुलनात्मक रूपमा स्थिर रहेकोले गर्दा यो बंगलादेशको उच्च जनघनत्व भएको राजधानी ढाकाभन्दा तल झरेर तेस्रो स्थानमा पुगेको हो । ढाका नवौं स्थानबाट दोस्रोमा उक्लिएको हो । सन् २०५० सम्ममा ढाका विश्वको सबैभन्दा ठूलो सहर बन्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागको विश्व सहरीकरण सम्भावना २०२५’ प्रतिवेदनले ठूला सहर (मेगासिटी) हरु अर्थात् १ करोडभन्दा बढी जनघनत्व भएका सहरी क्षेत्रको संख्या बढेर ३३ पुगेको पनि खुलासा गरेको छ, जुन सन् १९७५ मा विश्वव्यापी रूपमा रहेका आठ ठूला सहरको तुलनामा चार गुणा हो ।
विश्वका ३३ मेगासिटीमध्ये १९ वटा एसियामा छन् । शीर्ष १० मध्ये ९ वटा एशियामै छन् ।
जकार्ता, ढाका र टोकियो बाहेक शीर्ष १० मा परेका अन्य एसियाली सहर यी हुन् :
- नयाँ दिल्ली, भारत (३ करोड २ लाख जनसंख्या)
- सांघाई, चीन (२ करोड ९६ लाख जनसंख्या)
- ग्वाङझोउ, चीन (२ करोड ७६ लाख जनसंख्या)
- मनिला, फिलिपिन्स (२ करोड ४७ लाख जनसंख्या)
- कोलकाता, भारत (२ करोड २५ लाख जनसंख्या)
- सियोल, दक्षिण कोरिया (२ करोड २५ लाख जनसंख्या)
संयुक्त राष्ट्रसंघका अनुसार ३ करोड २० लाख मानिसको बसोबास रहेको इजिप्टको कायरो शीर्ष १० ठूला सहरको श्रेणीमा परे पनि एसिया बाहिर छ ।
१ करोड ८९ लाख मानिसको बसोबास रहेको ब्राजिलको साओ पाउलो अमेरिकी महादेशको सबैभन्दा ठूलो सहर हो । नाइजेरियाको लागोस पनि तीव्र गतिमा बढ्दै उप–सहारा अफ्रिकाको सबैभन्दा ठूलो सहर बनेको छ ।

रिक्सा चढेर बंगलादेशको राजधानी ढाकास्थित दोस्रो बूढीगंगा पुल पार गर्दै सर्वसाधारण । तस्बिर : मोनिरुल आलम/इपीए
ढाकाको तीव्र वृद्धि आंशिक रूपमा अवसरको खोजीमा ग्रामीण क्षेत्रबाट राजधानीतर्फ बसाइँ सर्ने मानिसका कारण वा जलवायु परिवर्तनले बढाएको बाढी र बढ्दो समुद्री सतह जस्ता समस्याका कारण थातथलो छोडेर भाग्ने मानिसहरूले गर्दा पनि भएको हो ।
जकार्ताले पनि बढ्दो समुद्री सतहका कारण समस्या भोगिरहेको छ । सन् २०५० सम्ममा सहरको एक चौथाइ भाग पानीमुनि पर्न सक्ने अनुमान गरिएको छ ।
यो समस्या यति गम्भीर छ कि इन्डोनेसिया सरकारले बोर्नियो टापुको पूर्वी कालिमान्तान प्रान्तमा नुसानतारा नामक नयाँ विशेष रूपमा निर्मित राजधानी सहर निर्माण गरिरहेको छ । संयुक्त राष्ट्रसंघले सन् २०५० सम्ममा जकार्तामा थप १ करोड मानिस बसोबास गर्ने अनुमान गरेको छ ।
सहरको बढ्दो जनसंख्याले असमानता र महँगीसँग पनि जुध्नु पर्नेछ ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार पानी सकिन लागेकाले पानी आपूर्तिमा समस्या झेलिरहेको इरानको राजधानी तेहरानमा हाल ९० लाख मानिसको बसोबास छ ।
नयाँ मूल्यांकनमा परिवर्तनहरू पनि देखिएको छ । संयुक्त राष्ट्रसंघले विभिन्न देशहरूले सहरीकरणलाई कसरी परिभाषित गर्छन् भन्नेमा रहेको विसंगतिलाई सम्बोधन गर्न नयाँ उपायहरू अपनाएकोले यस्तो भएको हो ।
संयुक्त राष्ट्रसंघले प्रतिवेदनले अपवाद बाहेक अधिकांश अवस्थामा सहरको एक्लो आकारलाई झल्काएको छ, यसमा एकै ठाउँमा जोडिएर ठूलो बनेका दुई सहरहरूको आकारलाई समेटिएको छैन ।
नयाँ परिभाषाले एउटा शहरलाई एक किलोमिटर वर्ग ग्रिड कोषहरूको सन्निकट समूहको रूपमा परिभाषित गरेको छ, जसको जनघनत्व प्रतिवर्गकिलोमिटर कम्तीमा १,५०० हुनुपर्छ र कुल जनसंख्या कम्तीमा ५० हजार हुनुपर्छ ।









