काठमाडौं– नेपाल परिवार नियोजन संघ, काठमाडौं उपत्यका शाखाका वरिष्ठ शाखा प्रबन्धक शरदकुमार अर्याललाई एक अपरिचित महिलाले फोन गरेर छोरीको पाठेघर निकालिदिन अनुरोध गरिन् रे ! बौद्धिक अपांगता भएकी छोरीले विवाह गर्छु भनेर हैरान पारेपछि उनले यस्तो आग्रह गरेको अर्याल बताउँछन् ।
प्रबन्धक अर्यालले ती महिलालाई त्यसो गर्न नहुने भन्दै शाखाका साथी शिक्षिकाअर्थात् ‘च्याम्पियन’लाई ती किशोरीको परामर्शका लागि पठाइदिए ।
फरक क्षमता (अपांगता) भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा, बृहत्तर यौनिकता शिक्षा, सरसफाइ (विशेष गरेर महिनावारीका समयमा) लगायत आवश्यक स्वास्थ्य शिक्षाको परामर्श कसरी गर्ने भन्ने तालिम लिएका शाखामा कार्यरत च्याम्पियनसँग पनि किशोरीले आफूलाई विवाह गर्ने र बच्चा पाउने र केटा मान्छेसँग गफिने रहर भएको तर आमाले आफ्नो कुरा नसुनेको गुनासो गरिन् ।
च्याम्पियन भन्छिन्, ‘किशोरीकी आमालाई बृहत्तर यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध आयाम, फरक क्षमता भएकाको आवश्यकतालगायत अन्य विषयमा आवश्यक परामर्श दियौं । छोरीको पाठेघर निकाल्न नहुने कुरामा आमालाई आश्वस्त पारेर फर्कियौं ।’
अपांगतामैत्री छैनन् परिवार व्यवस्थापनको अस्थायी र स्थायी साधन
अपांगता भएका किशोरीहरु पनि महिनावारी हुन्छन् । यस्तो समयमा उनीहरुलाई आवश्यक पर्ने सामग्री एवं सरसफाइमा ध्यान देलान त ?
अभिभावक अथवा हेरचाहकर्ताले कस्तो व्यवहार गर्लान् ? प्रबन्धक अर्यालले भने, ‘अपांगता भएकी किशोरी महिनावारी हुँदा आफूलाई अभिभावकले गर्ने व्यवहार हाम्रा च्याम्पियनलाई, क्लिनिकमा सेवा लिन आउँदा अथवा हामीले उनीहरुकै लागि आयोजना गरेका स्वास्थ्य शिविरमा भन्दछन्, यो सुन्दा बृहत्तर यौनिकता शिक्षाका बारेमा अभिभावकमा सचेतना नै छैन ।’
अपांगता भएका व्यक्तिलाई पनि विवाह गर्न, बच्चा जन्माउन मनलाग्दो हो । के उनीहरुको सहज विवाह भएको छ त ? पछिलो जनगणनाअनुसार कुल जनसंख्याको २ प्रतिशत अर्थात् ७ लाख विभिन्न प्रकारका अपांगता भएका व्यक्ति छन् ।
उनीहरुलाई पनि परिवार योजनाका स्थायी अथवा अस्थायी साधन प्रयोग गर्न मन लाग्दो हो ? यस्ता साधनमा उनीहरुको सहज पहुँच छैन । नेपालमा परिवार व्यवस्थापनको अस्थायी साधन पिल्स मात्र अपांगतामैत्री छ । अर्कोतर्फ स्वास्थ्य सस्थाका पूर्वाधार, सेवा, औषधिमा अपांगता भएका व्यक्तिको पहुँच न्यून छ । पछिल्लो जनसांख्यिक सर्वेक्षण अनुसार स्वास्थ्य सस्थामा अपांगता भएका व्यक्तिमध्ये २ प्रतिशतको मात्र पहुँच छ ।
‘अपांगतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षा’सम्बन्धी परियोजनाको समीक्षा गर्न मंगलबार आयोजित कार्यक्रममा प्रबन्धक अर्यालले अपांगता भएका व्यक्ति, तिनका अभिभावक र हेरचाहकर्ता (केयरटेकर)का आ–आफ्नै व्यथाका पुलिन्दा प्रस्तुत गर्दै सीमान्तकृत अपांगता भएका व्यक्तिको शिक्षा र स्वास्थ्यका क्षेत्रमा राज्य गम्भीर बन्न आग्रह गरे ।
नेपाल परिवार नियोजन संघद्वारा फिनल्यान्ड सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा काठमाडौं उपत्यकाभित्रका अपांगता भएका व्यक्तिका लागि ‘अपांगतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षा’ परियोजना सञ्चालित छ । अपांगता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षामा कसरी पहुँच सुनिश्चित गर्ने भन्ने प्रमुख ध्येय रहेको सो परियोजनाले त्यस्ता व्यक्तिका लागि अलग्गै स्वास्थ्य शिविर, अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम, बृहत्तर यौनिकता शिक्षा, विद्यालय तहमा अपांगता समावेशी शिक्षाका बारेमा सरोकार निकायसँग मिलेर काम गरिरहेको छ । परियोजनाका संयोजक विवेक रिसालले परियोजनाका गतिविधि प्रस्तुत गर्दै अपांगतामैत्री स्वास्थ्य सेवा र समावेशी शिक्षाका लागि निरन्तर पैरवी जारी रहेको जानकारी दिए ।
उनले भने, ‘स्वास्थ्य शिविर र संघद्वारा सञ्चालित क्लिनिकमार्फत अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवा पुर्याइरहेका छौं ।’ उनका अनुसार सन् २०१९ देखि कार्यान्वयनमा आएको सो परियोजनाले हालसम्म १० हजार अपांगता भएका व्यक्तिलाई सो सेवा प्रदान गरिसकेको छ ।
दृष्टिसम्बन्धी अपांगता भएकी सन्ध्या श्रेष्ठ भन्छिन्, ‘अपांगता भएका व्यक्ति पनि महिनावारी हुन्छन्, उनीहरुलाई केटासँग गफिने, विवाह गर्ने, बच्चा पाउने रहर हुन्छ । अपांगता भएका व्यक्तिको रहर र चाहनालाई न त अभिभावक, नत ‘केयर टेकर’ले नै बुझिदिन्छन् । हामीलाई पाइलापिच्छे अवरोध र समस्या छन् ।’ संघका केन्द्रीय सदस्य एवं च्याम्पियनसमेत रहेकी श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्था र सेवा अपांगतामैत्री नरहेको गुनासो गरिन् ।
अपांगतामैत्री सेवा छ, पहुँच र जानकारी छैन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रमुख डा सतिष विष्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्वास्थ्य प्रदायक संस्थाबाट अपांगता भएका व्यक्तिले प्राप्त गरेका सेवालाई केन्द्रीय सूचना तथा तथ्यांक प्रणालीभित्र प्रविष्ट गराउन सुरु भइसकेको जानकारी दिँदै अझै स्वास्थ्य सस्था, सेवा, निःशुल्क औषधिलगायतका क्षेत्र अपांगता भएका व्यक्तिको सहज पहुँच नभएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेगालले स्वास्थ्यकर्मी सहित विशेषज्ञ चिकित्सकलाई समेत अपांगता भएका व्यक्तिका स्वास्थ्य समस्या सम्बोधन गर्न कसरी व्यवहार गर्ने भन्ने विषयमा सञ्चारको ज्ञान आवश्यक रहेको, स्वास्थ्य संरचना र सेवालाई अपांगता भएका व्यक्तिमैत्री बनाउन जरुरी रहेको बताए। उनी भन्छन्, ‘अझै पनि समाजमा अपांगता भएका व्यक्तिलाई परिवार व्यवस्थापनको साधन चाहिन्छ र भन्ने प्रश्न गर्नेहरु छन् ।’
परिवार कल्याण महाशाखाका परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेलले अपांगतामैत्री सुरक्षित तथा प्रजनन स्वास्थ्य सेवा नीतिगत प्रावधान भए पनि व्यवहारिक कार्यान्वयनमा समस्या रहेको बताइन्।









