काठमाडौं– महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि आवश्यक रकम २४ घन्टामै जुटेको छ । साम्बाले आफूलाई उपचारको लागि आवश्यक पर्ने रकम २४ घन्टामै उठेको जानकारी गराएकी छिन् ।

उनले यो अवधिमा डेढ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको बताएकी छिन् । साम्बाले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी गराउँदै थप सहयोग नपठाउन आग्रह गरेकी छिन् ।

उनले आफ्नो फेसबुक वालमा शुभचिन्तक र समर्थकलाई धन्यवाद ज्ञापन गर्दै पछिल्लो २४ घन्टामा आफूलाई उपचारको लागि आवश्यक रकम प्राप्त भएको भन्दै धन्यवाद ज्ञापन गरेकी छिन् ।

उनले लेखेकी छिन्:

आदरणीय समर्थकहरू,
आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनुभयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यही उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शतप्रतिशत मिहिनेत गर्नेछु ।

खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक हृदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो ।

मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ ।

मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघसंस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।

म आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बिमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको छ । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्नेमा विश्वस्त छु ।

यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ ।

म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।

मेरोतर्फबाट ‘धन्यवाद” मात्र पर्याप्त हुँदैन । तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ । फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिवद्धता हुनेछ ।

चाँडै मैदानमा भेटौंला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय