ढाका, बंगलादेश— शकील खान हरेक दिन ढाकाको अत्यासलाग्दो ट्राफिकमा बाइकमा सामान ओसार्ने र यात्रु पुर्याउने काम गर्छन् । तर, अचेल उनलाई सरकारले बाइकका लागि तोकेको कोटाको तेल भर्न पेट्रोल पम्पहरूमा घण्टौंसम्म लामो लाइन बस्नुपर्छ ।

इरानविरुद्ध अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणले विश्वभर इन्धन आपूर्तिमा असर पारेसँगै बंगलादेशमा तेल र ग्यासको अभाव झेल्ने करोडौं मानिसहरूमध्ये खान एक हुन् ।

बंगलादेशको राजधानीमा ढाकामा मोटरसाइकल चालकहरूको लामो ताँतीमा भेटिएका खानले भने, ‘तेल अभावका कारण मेरो दैनिक आम्दानी घटेको छ ।’

हजारौं माइल टाढा, विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्गमध्येको एक ‘स्ट्रेट अफ हर्मोज’ लगभग ठप्प छ । पर्सियन खाडीमा मिसाइल र ड्रोनहरू उडिरहेका छन् भने इरानले सो जलमार्गबाट हिँड्ने जहाजहरूमाथिको आक्रमणलाई तीव्र बनाएको छ ।

एसियाका अन्य धेरै देशहरू जस्तै बंगलादेश पनि विदेशी तेल र ग्यासमा निर्भर छ । आपूर्ति कम हुन सक्ने संकेतले यस क्षेत्रका सरकारहरूलाई नयाँ नीतिहरू ल्याउन बाध्य बनाएको छ ।

विश्वको सबैभन्दा धनी राष्ट्रले एउटा महँगो युद्धको नेतृत्व गरिरहँदा खर्च धान्न नसक्ने गरिबहरुले आफ्नो खल्तीमा सबैभन्दा गम्भीर र तत्काल असर महसुस गरिरहेका छन् । एउटा थिंक ट्यांकको अनुमान अनुसार अमेरिकाले यो युद्धमा दैनिक ४ हजार ८९० मिलियन खर्च गरिरहेको छ ।

लाखौं मानिसहरूलाई ऊर्जा बचत गर्न एयर कन्डिसन कम गर्न, बत्ती निभाउन, बैठकहरूको लागि यात्रा नगर्न र सम्भव भए घरबाटै काम गर्न भनिएको छ ।

बुधबार एक ऐतिहासिक कदम चाल्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूले ४०० मिलियन ब्यारेल तेल बजारमा पठाउने सर्वसम्मतिले निर्णय गरे । यो आपतकालीन मौज्दातबाट अहिलेसम्मकै सबैभन्दा ठूलो निकासी हो ।

संयुक्त राष्ट्र संघले यो अवरोध लम्बिएमा विनाशकारी परिणाम आउने चेतावनी दिएको छ । मंगलबारको एक रिपोर्टमा भनिएको छ, ‘यसको असर यो क्षेत्रभन्दा धेरै टाढासम्म पुग्नेछ, जसले ऊर्जा बजार, समुद्री यातायात र विश्वव्यापी आपूर्ति शृंखलालाई प्रभावित पार्नेछ ।’

दक्षिण एसियामा संकटको दबाब
मध्यपूर्वमा बढ्दो द्वन्द्वले एक वर्षदेखि अमेरिकाले लगाएको भन्सार महसुल र निरन्तरको व्यापार अवरोधका कारण पहिले नै अनिश्चित बनेको विश्व अर्थतन्त्रलाई थप क्षति पुर्याइरहेको छ ।

विशेष गरी दक्षिण एसिया मध्यपूर्वबाट हुने तेल र ग्यास आयातमा धेरै निर्भर भएकाले अत्यन्तै जोखिमपूर्ण अवस्थामा छ ।

उत्तरी भारतीय सहर गोरखपुरमा, अजय कुमार बिहान ३ बजेदेखि वितरण केन्द्र बाहिर ग्यास सिलिन्डर भर्न पर्खिरहेका मानिसहरूको लाइनमा बसेका छन् । उनले स्थानीय समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘यो अवस्था विगत १० दिनदेखि छ । यदि हामी समयमै केन्द्रमा आएनौं भने आधा मानिस खाली हात फर्किनुपर्छ ।’

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भारत तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) को ठूला आयातकर्तामध्ये एक हो, जुन त्यहाँका बासिन्दाहरूले खाना पकाउनेदेखि सवारी साधन चलाउनेसम्म प्रयोग हुन्छ ।

रवि नामका एक व्यक्तिले आइएनआईसँग भनेका छन्– अभावका कारण मानिसहरूले धेरै कठिनाइ भोगिरहेका छन् । हामीले हिजो दाउराको चुल्होमा खाना पकाउनुपर्यो ।

एनालिटिक्स फर्म केप्लरका अनुसार, भारतले आफूलाई आवश्यक पर्ने एलपी ग्यासको लगभग ८५ प्रतिशत आयात गर्छ र आफ्नो लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) को करिब ५० प्रतिशत मध्यपूर्वबाट प्राप्त गर्छ – जुन मल, बिजुली र यातायातका लागि महत्त्वपूर्ण छ ।

यो संकटलाई नियन्त्रण गर्न भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले यसै हप्ताको सुरुमा रिफाइनरीहरूलाई घरेलु उपभोगका लागि मात्र एलपीजी उत्पादन बढाउन आदेश दिएको छ । सरकारले औद्योगिक प्रयोगकर्ताहरूबाट इन्धन कटौती गरी घरपरिवारलाई आपूर्ति गर्न आपतकालीन अधिकार प्रयोग गरेको छ ।

छिमेकी देश पाकिस्तानले पनि विद्यालय बन्द गर्ने र घरबाटै काम गर्ने नीतिसहितका कडा मितव्ययिता उपायहरू घोषणा गरेको छ । प्रधानमन्त्री शहबाज शरीफले सरकारी कार्यालयहरूलाई नयाँ फर्निचर र एयर कन्डिसनर किन्न अनुमति नदिइने बताएका छन् ।

नेपालमा पनि सरकारले उपभोक्तालाई शुक्रबारदेखि आधार भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको छ । नेपालमा पेट्रोलको भने अभाव भइसकेको छैन । नेपाल आयल निगमले अहिलेसम्म भारतबाट हुने ग्यास आयात नघटे पनि सम्भावित अभाव र अभावका बेला थुपार्ने उपभोक्ता प्रवृत्तिलाई ध्यानमा राखेर आधा भरेको ग्यास उपलब्ध गराउने नीति लिएको छ ।

अन्य भागमा असर
यसको प्रभाव दक्षिण कोरियामा पनि देखिएको छ, जसले झण्डै ३० वर्षमा पहिलो पटक इन्धनको मूल्यमा सीमा तोकेको छ । एक प्रमुख विश्वव्यापी अर्थतन्त्र र जी२० को सदस्य राष्ट्रका लागि यो ठूलो कदम हो ।

राष्ट्रपति ली जे म्युङले तेल प्रशोधन कम्पनी र ग्यास स्टेसनहरूलाई मूल्य वृद्धि रोक्न कडा निगरानी गर्न निर्देशन दिएका छन् ।

थाइल्यान्डले सरकारी कर्मचारीहरूलाई वैदेशिक भ्रमण स्थगित गर्न र घरबाटै काम गरेर ऊर्जा बचत गर्न आदेश दिएको छ भने जनतालाई अत्तालिएर सामान नकिन्न आग्रह गरेको छ ।

फिलिपिन्सले केही सरकारी अधिकारीहरूका लागि चारदिने कार्य हप्ता लागू गर्ने र एयर कन्डिसनको तापक्रम २४ डिग्री सेल्सियसभन्दा कम नराख्न भनेको छ ।

बंगलादेशमा फर्कंदा, ग्यास स्टेसनहरूमा साँझ अबेरसम्म लामो लाइनहरू कायमै थिए । रइसुल इस्लाम ओमारले आफ्नो सवारी साधन चलाइराख्न दिनको दुईपटक लाइन बस्नुपरेको बताए । उनले भने, ‘म हरेक दिन बिहान र बेलुका तेल किन्दै छु । यो सम्भव छैन ।’

यो अभावबीच भारतले पाइपलाइनमार्फत बंगलादेशलाई करिब ५,००० मेट्रिक टन डिजेल आपूर्ति गर्ने भएको छ, जसले ‘विद्युत उत्पादन, यातायात र कृषिका लागि पर्याप्त इन्धन भण्डार कायम राख्न’ मद्दत गर्ने भारतीय सरकारी प्रसारक अल इन्डिया रेडियोले जनाएको छ ।

यद्यपि, जमीनमा रहेका मानिसहरूका लागि यो हस्तक्षेपले खासै सान्त्वना दिएको छैन, किनकि संकट कति समयसम्म लम्बिने हो भन्ने डर बढ्दै गएको छ ।

‘यदि स्थिति यस्तै रह्यो भने यसले अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गर्नेछ,’ इन्धनको लागि लाइनमा बसेका अर्का ढाका निवासी मोहम्मद जोयनलले भने, ‘हामी पूर्ण रूपमा धेरै खराब स्थितिमा हुनेछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय