काठमाडौं– उच्च पदस्थ जोडिएको नक्कली भुटानी शरणार्थी मुद्दामा सबै अरोपी दोषी रहेको जिल्ला अदालत, काठमाडौंले ठहर गरेको छ । मंगलबार यस मुद्दामा फैसला सुनाइए पनि सजाय निर्धारण भने अर्को पेशीमा गरिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा उल्लेख छ। गत २७ जेठदेखि यस मुद्दामा जिल्ला अदालतमा निरन्तर सुनुवाई हुँदै आएको थियो।
उक्त मुद्दामा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल प्रतिवादी छन। त्यस्तै, बेचन झा, प्रतिक थापा, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी प्रतिवादी छन्।
१० जेठ २०८० मा जिल्ला सरकारी वकिलको कार्यालयले सुरुमा ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी आरोपमा मुद्दा दायर गरेको थियो । पछि ९ वैशाख ०८१ मा थप पाँचजनालाई प्रतिवादी बनाई अर्को मुद्दा दायर गरिएको थियो भने बेचन झा पक्राउ परेपछि २९ साउन २०८१ मा तेस्रो मुद्दा दर्ता गरिएको हो ।









