काठमाडौं– पूर्व प्रधानमन्त्री, प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहको असाधारण व्यवहारप्रति प्रश्न उठाएका छन्। बुधबारको प्रतिनिधिसभामा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले प्रधानमन्त्रीले संसद्‌का सबै सांसदहरूको विश्वास लिन नसकेको बताए ।

‘सरकारको मुख्य नेतृत्व आज आउनुभयो केही ब्रिफिङ गर्नुभयो यस अर्थमा धन्यवाद भन्छु। तर अरुलाई पनि विश्वासमा लिनुपर्थ्यो। संसद्‌लाई विश्वासमा लिनु भनेको खाली प्रतिप्रक्षीलाई मात्रै होइन। कार्यशैलीले के देखाउँछ भने आफ्नै सांसदलाई पनि विश्वासमा लिने मेहनत गरेको मैले चाहिँ देख्दिनँ,’ दाहालले गुनासो गरे । ‘उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरि जानुहुन्छ यो के तरिका हो ? यस्तो हुँदैन। प्रधानमन्त्री त हामी सबैको हो। जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका छौं । भन्दा भन्दै कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका ?’

उनले प्रधानमन्त्रीलाई ठूलो अवसर प्राप्त भएको र यसलाई गुमाउन नहुने पनि बताए।

‘उहाँलाई अवसर प्राप्त छ। गुम्न दिनुहुँदैन । राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवसहित के भन्छु भने, यस्तो बेलामा गर्नुपर्ने संकल्प भनेको धेरै लामो भाषण होइन ‍नेतृत्व खोजेको छ देशले। जनताले आश्वासन खोजेका छैनन्। हरेक ठाउँमा सरकारको उपस्थित खोजेका छन्,’ उनले थपे, ‘सोसल मिडियामा पोस्ट हैन । सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो तर यो संकट समाधान हुँदैन ।’

देश संकटमा रहेको बेला सबैको एकता आवश्यकता रहेको प्रचण्डको भनाइ छ। सबैको एकता कायम राख्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको उनले उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय