काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।
अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि ४० लाख रुपैयाँले बढाइएको नेपाल क्रिकेट संघ (क्यान)ले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ ।
एनपिएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । यसपटक पनि प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहनेछ ।









