काठमाडौं– सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली मंगलबारदेखि हट्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २२ गतेदेखि लागू हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउँदै सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार मंगलबारदेखि निजी तथा सार्वजनिक सवारी साधनले सिट क्षमता अनुसार यात्रु बोक्न पाउनेछन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जारी गरेको सूचनामा राजधानी उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमता अनुसार यात्रु बोक्न पाउने उल्लेख छ । सफा टेम्पो र निलो माइक्रोले तेर्सो सिटमा ४–४ जनाको दरले ८ जना र चालक छेउमा एकजना गरी ९ जनामात्र यात्रु बोक्न पाउने छन् । सवारीको मध्यभागमा दुईतर्फी यात्रु छुट्ट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सबै यात्रुले मास्क लगाउनुपर्ने, मास्क नलगाउनेलाई सवारी साधनमा प्रवेश नदिने, सवारी साधनको ढोकामा सेनिटाइजर राख्नुपर्ने, सवारी साधन अनिवार्य रुपमा निसंक्रमित गर्नुपर्ने लगायतको मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय