काठमाडौं– राजधानी उपत्यकामा एक साताका लागि थप गरिएको खुकुलो निषेधाज्ञा आजदेखि लागू भएको छ । आजदेखि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटेको छ भने सबै प्रकारका सवारी साधन गुडाउन पाइनेछ । मंगलबार बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जा प्रयोग गर्न भनिएको छ । सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई निसंक्रमित गर्नुपर्नेछ भने मास्क नलगाएका यात्रुलाई चढाउन पाइने छैन ।

स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधनसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ । आदेशमा भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्मका लागि खुला गरिएको छ । सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक लगाइएको छ । यस्तै, पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिक रूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठपाठनका गतिविधिसमेत गर्न पाइने छैन ।

स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने तर औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहनेछ । अत्यावश्यक वस्तुको अनलाइन ‘अर्डर’, रेस्टुरेन्ट तथा फास्टफुड एवं अन्य अर्डरको टेकअवे र होमडेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ ।

सफा टेम्पो र तथा निलो माइक्रोबसलाई पछाडिको तेर्साे सिटमा चार–चार र चालकको छेउमा एक गरी नौजना मात्रै यात्रु राख्न भनिएको छ । गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउनु पर्नेछ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधान बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।

पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा सर्त पालना गरी सञ्चालन गर्न सकिने छ । त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय