काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले ल्याएको आरबिबी म्युचल फन्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो ।
अंकित मूल्य १० रुपैयाँ दरका १० करोड एकाइ जारी गरिने कम्पनीले जनाएको छ । यसमध्ये एक करोड ५० लाख एकाइ वा कूल बिक्री भएको इकाइको संख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ । बाँकी रहेको आठ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ ।
म्युचल फन्डको एकाइमा न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड एकाइसम्मका लागि आवेदन दिन सकिने छ । निष्कासन तथा बिक्री छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बन्द गरिने छ । यो योजना कोष प्रवर्द्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड हुने गरी ‘आरबिबी म्युचल फन्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो ।
यस योजनाको समयावधि सात वर्ष छ । कम्पनीले सात वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्म प्रतिफल दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सञ्चालन गर्न लागेको यो पहिलो सामूहिक लगानी कोष योजना हो ।









