मोरङ– मुलुकको प्रतिष्ठित व्यापारिक घराना गोल्छा ग्रुपको सहायक कम्पनी हुलास वायर इन्डस्ट्रिजबाट बिनाकारण कामदार निकालिएपछि त्यहाँ आन्दोलन सुरु भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित हुलास वायर इन्डस्ट्रिज हुलास वायरका ९३ निकालिएपछि आन्दोलन सुरु भएको हो ।
हुलास वायरका सात सय मजदुरले श्रम ऐनअन्तर्गतको सेवा सुविधाको माग गर्दै आन्दोलन थालेका छन् । मजदुरले १० वर्षदेखि काम गर्दै आएका ९३ साथीहरुलाई मंगलबार हुलास वायरले निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको बताएका छन् । उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रवेश पाएनन् । मजदुरका अनुसार त्यहाँ १० वर्षदेखि काम गर्दै आएका मजदुरलाई सरकारले तोकेअनुसारको सेवा सुविधा दिइएको छैन ।
हुलास वायरका आन्दोलनरत मजदुरले सरकारले तोकेको सेवा सुविधासहित निष्कासनमा परेका मजदुरलाई पुनः रोजगारी दिनुपर्ने माग राखेका छन् ।
त्यसैगरी, विराटनगर–१९ को तुलसी मोटर पम्प उद्योगमा पनि कामदार निकालेपछि आन्दोलन सुरु भएको छ । यो उद्योगले पनि श्रम ऐनले तोकेभन्दा कम पारिश्रमिक दिएको र त्यहाँ कार्यरत मजदुलाई विगत दुई महिनादेखि काम नदिएको भन्दै आन्दोलन सुरु भएको हो ।
तुलसी मोटर पम्प उद्योगमा मजदुरले ट्रेड युनियन गठन गर्न खोजेपछि उनीहरुलाई २ महिनादेखि काम नदिएको मजदुर संजयकुमार चौधरीले बताए । मजदुरलाई काम गर्न नदिएपछि श्रम कार्यालय विराटनगरमा उनीहरुले उजुरी दिएका थिए । उजुरी दिएपछि श्रम कार्यालयले काम नदिएका कर्मचारीलाई तत्काल काम दिन र हटाइएका कर्मचारीलाई पुनर्बहाली गरी यथास्थानमा काम गर्न गराउन पत्राचार गरे पनि व्यवस्थापन पक्षले भने बेवास्ता गरेको आरोप लगाएका छन् ।
‘यहाँ ४ वर्षदेखि काम गर्दै आएको छु,’ मजदुर चौधरीले भने, ‘यहाँ कार्यरत मजदुरमध्ये २४ जना मिलेर टे«ड युनियन कांग्रेस श्रम कार्यालयमा दर्ता गर्यौं । युनियन दर्ता गरेको निहुँमा हामीलाई विभिन्न प्रकारका दबाब दिँदै गेटबाट प्रवेश दिइएको छैन ।’ २/३ महिनादेखि कामबाट वञ्चित गरेपछि पुनः रोजगारी दिनुपर्ने र श्रम ऐनअनुसारको तलब सेवा सुविधा दिनुपर्ने माग राख्दै ५ दिनदेखि आन्दोलन गरेको हो । श्रम कार्यालयले उद्योगका नाम दिइएको पत्रको व्यवस्थापन पक्षले सुनुवाइ नगरेको चौधरीले बताए ।
उद्योगमा कार्यरत ७७ जना मजदुरमध्ये २४ जनाले आन्दोलन गरेका हुन् । उद्योगको गेटमा धर्नामा बसेका मजदुरलाई प्रहरी प्रशासनले जबरजस्ती हटाएको थियो । आन्दोलनरत मजदुरको माग पूरा नभएसम्म धर्नामा बस्ने बताएका छन् । तुलसी मोटर पम्पसहित शिखर अर्गनाइजेसन प्रालि र नटराज एग्रो प्रालि सञ्चालनमा रहेका छन् ।









