काठमाडौं– जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको अस्ट्राजेनेका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।
जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापान सरकारको उक्त निर्णयको स्वागत गर्दै मन्त्रालयले कठिन परिस्थितिमा खोप सहायता प्रदान गरेकामा नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ ।
उक्त खोप यसअघि भारतबाट प्राप्त कोभिसिल्डको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दिने सरकारको तयारी छ । भारतले नेपालले पैसा तिरिसकेको खोप समेत नपठाउँदा पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिहरुले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
भारतमा उत्पादित कोभिसिल्ड पनि अस्ट्राजेनेकाकै फर्मुलामा बनेको खोप हो ।









