काठमाडौं– गत जेठ मसान्तमा मुलुकको चालु खाता घाटा दुई खर्ब ९३ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा चालु खाता घाटा बढेको छ ।

अघिल्लो वर्षको जेठ मसान्तमा चालु खाता घाटा ६२ अर्ब ५९ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालु खाता यसपालि दुई अर्ब ५१ करोडले घाटामा छ ।

यस्तै सो अवधिमा पुँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई १४ अर्ब १५ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई १६ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब पाँच करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको थियो ।

यस्तै शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक अर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड आठ लाखले घाटामा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई गत जेठ मसान्तमा १३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकामा २०७८ जेठ मसान्तमा २.३ प्रतिशतले कमी आई ११ खर्ब ९७ अर्ब ६५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब १७५ अर्ब ७१ करोड रहेकामा गत जेठ मसान्तमा ४.४ प्रतिशतले कमी आई एक खर्ब ६८ अर्ब कायम भएको छ । बैंकका अनुसार गत जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.६ प्रतिशत रहेको छ ।

चालु आवको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.१ महिनाको वस्तु आयात र १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकको रिपोर्टमा उल्लेख छ ।

के हो चालु खाता घाटा ?
चालु खाता भनेको मुलतः कुनै पनि मुलुकभित्र आयात हुने र त्यो मुलुकबाट निर्यात हुने सेवा र वस्तुको मूल्यको हिसाब राख्ने खाता हो । सेवा र वस्तुको आयातभन्दा निर्यात बढी भए चालु खाता बचतमा जान्छ, कम भए घाटामा जान्छ ।

यसमा विदेशमा गरेको लगानीको ब्याज, लाभांश र विदेशी सहायताको पनि हिसाब राखिने गरे पनि कुल चालु खातामा यी क्षेत्रको योगदान निकै थोरै हुन्छ । चालु खाताले कुनै पनि मुलुकको विदेशसँग हुने कारोबारको प्रतिनिधित्व गर्छ । यो मुलुकको भुक्तान सन्तुलनको एउटा घटक पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय