काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रायलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । ‘अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो संकेत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु,’ अर्थमन्त्री शर्माले भने ।

उनले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उनले बताए ।

मन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उनले उल्लेख गरे ।

सबै विषयमा मन्त्रालय गम्भीर छलफल गरी समाधानको उपाय खोजी गरिरहेकोसमेत उनले जानकारी गराए ।

अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै निर्णय गर्ने उनले बताए । उनले आफूले जिम्मेवारी पाइसकेपछि दैनिक गर्नुपर्ने काम मात्रै गरिरहेको र समग्र विषयमा महाशाखाका अधिकारीसँगको छलफललाई तीव्र पारिरहेको उनले बताए ।

मन्त्री शर्माले भने, ‘सबै क्षेत्रका आआफ्ना माग छन्, समावेश गर्नुपर्ने कुरा पनि आएका छन्, सबै कुरा छलफलकै क्रममा छ, त्यसैको आधारमा मुलुकको आर्थिक मानचित्र तयार पारिनेछ ।’

उनले पुँजी बजारलगायतका समस्या रहेको जानकारी गराउँदै त्यसलाई सर्वसाधारण जनताको हितमा हुने गरी कसरी काम गर्न सकिन्छ भनेर योजना निर्माण गरिनसमेत आश्वासन दिए । उनका अनुसार पुँजीबजारले १४ अर्बको राजस्व योगदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय