काठमाडौं– ताप्लेजुङको मेरिङदेन गाँउपालिकामा निर्माण हुने युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेकोे ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा कुमारी, मेगा, नेपाल इन्फ्रास्ट्रचर, सिद्धार्थ, नेपाल एसबिआई र सिभिल बैंकले लगानी गर्ने भएका छन् । ती बैंकहरु र कम्पनीबीच सात सय करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको छ ।
परियोजनाको अनुमानित लागत करिब नौ अर्बमा बैंकहरुले ७५ प्रतिशत लगानी गर्नेछन् । २५ प्रतिशत स्वपुँजीको रुपमा प्रवर्द्धकहरुले लगानी गर्नेछन् । बैंकहरुले आयोजनामा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्सले एक अर्ब ४५ करोड, कुमारी, सिद्धार्थ, मेगा र नेपाल इन्फ्रास्ट्रचर बैंकले १–१ अर्ब लगानी गर्नेछन् ।
त्यसैगरी, नेपाल एसबिआई बैंकले ८० करोड र सिभिलले ५० करोड लगानी गर्नेछन् । त्यस्तै, २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोजनाको निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ, जसका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा छ । निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोसी करिडोर अन्तर्गतको ढुंगेसाँघुस्थित सबस्टेसनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत् उत्पादन हुने जारी विज्ञप्तिमा उल्लेख छ ।









