काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेकी छिन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन् ।
सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्न ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले थपिन्, ‘ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ ।’ नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउर्ने विषयलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा उनले जोड दिइन् ।
मन्त्री भुसालले विद्युत्को दरमा पुनः विचार गर्ने नीति बनाउने पनि जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रोमा विद्युत्को दर महँगो छ । सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ । उपभोक्ताका रूपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन । विद्युत्को दरमा पुनःविचार गर्नुपर्छ । विद्युत् महसुल समायोजन गर्नुपर्छ ।’
निजी क्षेत्रले ऊर्जा क्षेत्रमा ठूलो लगानी गरेर राज्यलाई योगदान गरेको उल्लेख गर्दै उनले भनिन्, ‘निजी क्षेत्रको हामीले संरक्षण गर्नुपर्छ । उहाँहरूको अभिभावक पनि सरकार हो ।’
जनताको मैलिक हक र अधिकारमा ऊर्जा क्षेत्रले योगदान गर्नुपर्ने बेला आएको बताउँदै मन्त्री भुसालले भनिन्, ‘हामीले मौलिक अधिकारका रूपमा संविधानमा लेखेका छौं, कानुन पनि बनाएका छौं । जीवन व्यवहारमा स्वास्थ्य, सामाजिक सुरक्षालगायत क्षेत्रमा हामी काम गरेका छौं । यो क्षेत्रले पनि त्यतातिर योगदा गनुपर्छ, त्यसतर्फ ध्यान दिनुपर्छ ।’
सर्वेक्षण र डिपिआर भएका ठूला जलाशययुक्त र अर्धजलाशयुक्त आयोजना सरकारले बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले थपिन्, ‘ठूला जलाशययुक्त आयोजना जनता र अन्य क्षेत्रबाट लगानी जुटाएर निर्माण गनुपर्छ भन्ने निष्कर्षमा म पुगेको छु ।’
उत्पादन वृद्धि गर्ने, सस्तो दर तोक्ने, सहुलियत दिने र उपभोक्ता बढाउनेतर्फ आफू लाग्ने भन्दै मन्त्री भुसालले डलर तिरेर ल्याएको एलपी ग्यास विस्थापित गर्न सके उपभोक्ताको संख्या र खपत बढ्ने बताइन् । उनले उद्योग कलकारखानाको माग सम्बोधन गर्ने र विद्युतीय यातायातलाई जोड दिँदा विद्युत् खपत हुने विश्वास व्यक्त गरिन् ।
उनले ऊर्जाको माध्यमबाट सिँचाइमा सहयोग गर्ने नीति ल्याउने जानकारी दिइन् । ‘कृषिमा सिँचाइ सुविधा दिन सक्यो भने पनि ठूलो राहत मिल्छ, डिजेल पेट्रोलका पम्प सेटहरु हामीले चनाउनुपर्दैन,’ उनले भनिन् ।
विद्युतीकरण हुन नसकेका क्षेत्र र जनतामा छिटोभन्दा छिटो केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने उनको भनाइ छ । उनले चाँडो प्रसारण पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जा लगेर त्योद्वारा जनताको घरमा ऊज्यालो पुर्याउने बताइन् ।









