काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ महामारीलाई कारण देखाउँदै साउन ३१ देखि हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरको छ ।
शनिबार बसेको बोर्ड बैठकले परीक्षा स्थगित निर्णय गरेको हो । यसअघि जेठ २६ गतेबाट गर्ने तय भएको परीक्षा कोरोनाको दोस्रो लहरका कारण स्थगित भएको थियो । कोरोना केही मत्थर भएपछि उक्त परीक्षा आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुने गरी कार्यतालिका बनेको थियो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।
अब परीक्षा हुनुभन्दा १५ दिनअघि तालिका प्रकाशित गरेर परीक्षा लिने बोर्डले जनाएको छ ।









