काठमाडौं– नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति विगतको भन्दा केही सकारात्मक देखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

गत सालको मौद्रिक नीतिले व्यवस्था गरेका सहुलियत कर्जा, पुनरकर्जा लघु, घरेलु तथा साना उद्यमीले कमै मात्र प्राप्त गर्न गरेको भन्दै महासंघले अज्ञानवश वा झन्झटिलो संयन्त्रका कारण पनि यसो भएको हुन सक्ने जनाएको छ ।

अहिले पनि गत सालको मौद्रिक नीतिमा गरिएको केही व्यवस्थालाई निरन्तरता दिइएको हुँदा अब चाहिँ विगतको भन्दा चुस्त संयन्त्रमार्फत कर्जा दिने व्यवस्था हुन जरुरी भएको महासंघका अध्यक्ष श्याम गिरीले बताए ।

मौद्रिक नीतिले महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था, कोभिड–१९ महामारीबाट प्रभावित उद्योग, व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनरकर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएकोमा महासंघले स्वागत गरेको छ ।

लघु, घरेलु, साना तथा मझौला उद्यम, व्यवसायलाई प्राथमिकता दिने नीति, कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रोत्साहित गर्न गाँउपालिका तथा नगरपालिकाको सरकारी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका शाखामा कृषि, लघु तथा घरेलु कर्जासम्बन्धी फोकल डेस्कको स्थापना हुने व्यवस्था वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगको क्षेत्रलाई सकारात्मक आशा जगाएको महासंघको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय