बाँके– नेपालगन्ज नाकाबाट एक वर्षमा एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६–७७ मा एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो ।

त्यसैगरी, सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आवमा ८९ करोडको चामल आयात भएको छ । आव ०७६–७७ भन्दा यो झण्डै २९ करोडभन्दा बढी हो ।

आव ०७७–७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ को ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव ०७६–७७ मा ६० करोड १० लाख १५ हजार १४४ बराबरको आयात भएको थियो । आव ०७५–७६ मा ४९ करोड ७१ लाख १५ हजार आठ सय १३ को चामल आयत भएको देखिन्छ ।

नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको उनले बताए । आव ०७६–७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो । ‘पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने देखाउँछ,’ उनले भने ।

कार्यालयका अनुसार गत आवमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६–७७ को तुलनामा धेरै हो । उक्त आवमा एक अर्व ४४ करोड ६२ लाखको ती वस्तु आयात भएको थियो ।

सिमेन्टको क्लिंकर आयातमा भने गिरावट आएको छ । गत आवमा ३९ करोड १२ लाखको क्लिंकर आयात हुँदा आव ०७६–७७ मा ४१ करोड ९३ लाखका क्लिंकर आयात भएको थियो ।

‘सिमेन्टको क्लिंकर आयातमा भने कमी देखिएको छ,’ कार्यालय प्रमुख भण्डारीले भने । ‘लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिंकर आयातमा कमी भएको हुनसक्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय