चितवन– भरतपुर अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमका ’फोकल पर्सन’ नारायण सापकोटा आफैंले हेर्ने बिमा कार्यक्रममा ठगिएका छन् । श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बिमामा २७ हजार ५०० दाबी गरे । अस्पतालमा नभएपछि चार हजारको औषधि बाहिर किन्नुपर्यो ।
आम नागरिक झैं बिमाबाट रकम काट्ने र छुट्टै औषधि किन्नु पर्दा आफू पनि मर्कामा परेको उनले स्वीकार गरे । बिमा बोर्डसँग भरतपुर अस्पतालले शल्यक्रियाको औषधि, परीक्षण, बेड, शल्यक्रिया शुल्कलगायत सबैको प्याकेजमा रकम तय भएको छ । अस्पतालले शल्यक्रिया गर्दै गर्दा आफूले सुविधा दिन नसके पनि पूूरै रकम सेवाग्राहीको खाताबाट दाबी गरेर बिमा बोर्डसँग लिने गर्छ । सापकोटा भन्छन्, ‘औषधि उपलब्ध गराउने जिम्मा अस्पतालको हो । दोहोरो खर्च गराउनु गलत हो ।’
बिमाले लगभग ८० प्रतिशत औषधि समेटे पनि अस्पतालले दिन नसकेको उनको भनाइ छ । अस्पतालमा औषधि नहुँदा शल्यक्रियासँगै दमका बिरामी, ज्वरोका बिरामी पनि मर्कामा पर्ने गरेको सापकोटाको भनाइ छ । अस्पताल र बिमा बोर्डका बीचमा पित्तथैलीको ल्याबकोली (मेसिनबाट गरिने शल्यक्रिया) गर्दा प्याकेजमा २७ हजार ५०० दाबी गर्ने उल्लेख छ भने चिरेर शल्यक्रिया गर्दा १८ हजार उल्लेख छ ।
त्यस्तै, एपेन्डिसाइटिसको १५ हजार ५०० रहेको छ । सापकोटाको भनाइमा सबै शल्यक्रियाको दररेट छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपाने अस्पतालमा अधिकांश औषधि आपूर्ति गराउन आफूहरु लागि परेको बताउँछन् । औषधि दिन नसकेको उनले स्वीकार गरे । प्रत्यक्ष रुपमा बिरामी प्रभावित भएको विषयमा थप बुझ्ने न्यौपानेको भनाइ छ ।
बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला औषधि उपलब्ध नगराई रकम दाबी गर्न नपाउने बताउँछन् । यस विषयमा प्रत्यक्ष रुपमा अस्पतालमा कर्मचारी पठाएर बुझ्ने उनको भनाइ छ । सरकारी अस्पतालले राम्रो गर्छन् भन्ने उद्देश्यका साथ बिमा कार्यक्रमको पहिलो बिन्दु सरकारी अस्पताल बनाइएको भन्दै उनले बिरामी र बोर्ड कोही पनि ठगिन नहुने बताए ।
भरतपुर अस्पताल यस क्षेत्रमा बिमामा धेरै दाबी गर्ने अस्पताल पर्दछ । यस अस्पतालले मासिक दुई करोडभन्दा बढी बिमाबाट रकम दाबी गर्छ ।









