काठमाडौं– नेपालको कुल जनसंख्याको एक तिहाइभन्दा बढीमा कोरोना संक्रमण भइसकेको एउटा सर्भेक्षणले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोभिड–१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरोप्रिम्यालेन्स सर्भेक्षणले ६८.६ प्रतिशत नेपालीमा कोरोना संक्रमण भइसकेको देखाएको हो । मन्त्रालयले गत असार २१ देखि साउन ३० गतेसम्म ६ महिनाभन्दा माथि उमेरका व्यक्तिहरुबाट नमूना संकलन गरेर परीक्षण गर्दा त्यस्तो नतिजा प्राप्त भएको हो ।

‘संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थिया,’ मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरी ६८.६ प्रतिशत नमूनामा कोभिड–१९ एन्टिबडी देखिएको छ ।’

मन्त्रालयले सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ सहरका सबै लिंग, उमेर, पेसा तथा सबै समूहमा समान रुपमा नै एन्टिबडी देखिएको जनाएको छ ।

मन्त्रालयका अनुसार एक मात्रा खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० कोभिड एन्टिबडी देखिएको छ । यसले नेपालमा प्रयोग भइरहेका खोपहरु अत्यन्त प्रभावकारी रहेको देखाउने मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को एन्टिबडी देखिनु भनेको उक्त व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेको भन्ने हुन्छ । कुनै पनि व्यक्तिमा कोरोना संक्रमण भइसकेपछि उसको रोग प्रतिरोधी प्रणालीले उक्त भाइरसविरुद्ध एन्डिबडी उत्पादन गर्छ । उक्त एन्टिबडी भाइरसविरुद्ध लड्छ ।

६८.६ प्रतिशत नमूनामा कोभिड–१९ को एन्टिबडी भेटिनुको अर्थ ६८ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भइसकेको भन्ने हो । एकपल्ट भाइरसबाट संक्रमित भइसकेको व्यक्तिमा कहिल्यै संक्रमति नभएका व्यक्तिको तुलनामा उक्त भाइरसविरुद्ध लड्ने क्षमता विकास भएको हुन्छ ।

तैपनि कोरोना भाइरसले रुप बलिरहने र रुप बदलेका भाइरस अझ घातक हुन सक्ने भन्दै मन्त्रालयले सर्तक रहन र स्वास्थ्य मापदण्ड पालना गर्न सुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय