चितवन– पर्यटकीय नगरी चितवनको पटिहानीमा एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्टले सञ्चालनको तयारी गरिरहेको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ ।

रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार चितवनसहित देशभरका २२ व्यवसायीका लगानीमा उक्त रिसोर्ट निर्माण गरिएको हो । हालसम्म ७५ करोड लगानी भइसकेको जनाउँदै उनले सबै काम सम्पन्न गर्दा एक अर्ब हाराहानी पुग्ने बताए ।

रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन् । यीमध्ये दुई भिल्लामा पौडी पोखरीसमेत रहने जनाइएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन आयोजना गर्दा राष्ट्रप्रमुख बस्न मिल्ने गरी यी भिल्ला बनाइएको उनले जानकारी दिए ।

उनले भने, ‘सुरक्षा र सुविधासम्पन्न यी भिल्लामा अत्याधुनिक सुविधा रहेको छ ।’ एउटै भिल्लाको एक दिनको एक हजार डलर लिने गरी सुविधासम्पन्न बनाइएको निर्देशक न्यौपानेले जानकारी दिए ।

रिसोर्टमा अन्य ५२ कोठा छन् । पाँच सय अट्ने एक, १५० अट्ने दुई र १०० अट्ने चारवटा हल छन् । रेस्टुरेन्टमा ५०० ले एकपटक बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० अट्ने सुविधासम्पन्न बार पनि छ । होटलमा क्यासिनोका लागि अलग्गै भवन रहेको छ भने पौडीपोखरी, क्यासिनो र होटलको बीचमा रहेको छ ।

बगैंचा र पौडीपोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा १० कठ्ठा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अन्डरपासको व्यवस्था गरिएको छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्यान्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफैं उत्पादन गरिने जनाइएको छ । उनले भने, ‘जिल्लाको सबैभन्दा धेरै लगानीमा खुलेको सुविधासम्पन्न रिसोर्ट हो ।’

रिसोर्टमा १०४ अट्ने क्षमता छ । मुख्यरूपमा विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । यस रिसोर्टका सञ्चालकसमेत रहेका भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णु महतोले आफ्नो वडामा छ वटा सुविधासम्पन्न होटल पुगेको बताए । ती होटलमा पाँच अर्बभन्दा बढी लगानी भएको उनको अनुमान छ । ठूला होटलमा मात्रै ३०० जनाको क्षमता रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै रहेको यस क्षेत्रमा २५ साना होटल छन् । जहाँ थप ३०० जनाको क्षमता छ । उनले रिसोर्ट बनेसँगै यस क्षेत्रमा ठूला कार्यक्रमसमेत सञ्चालन गर्न सकिने बताए । यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुंगा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउन सकिने उनको भनाइ छ ।

यससँगै यहाँ आउने पर्यटकका लागि थारू जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उनले बताए । पटिहानी क्षेत्रमा होटल थपिएसँगै त्यहाँको महत्त्व अरु बढेर गएको उनले जानकारी दिए । वडाध्यक्ष महतोले भने, ‘स्थानीयवासीले रोजगारी र साना व्यवसाय गर्ने अवसर पाएका छन् । भौतिक विकासमा पनि टेवा पुगेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय