काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले नवनिर्वाचित आइक्यान पार्षद्हरुलाई आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

कार्यक्रममा संघका पूर्वअध्यक्षहरु, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्वअध्यक्षहरु, नेपाल अडिटर एसोसिएसन (अडान) का अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्षद्, एक्यान कार्यसमितिका सदस्य र साधारण सदस्य, अडानका सदस्य लगायत चार्टर्ड एकाउन्टेन्ट्स क्षेत्र सम्बद्ध व्याक्तित्वहरुको उपस्थिति रहेको संघले जनाएको छ ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित आइक्यान पार्षदहरु र सरकारबाट संविधान दिवस २०७८ का अवसरमा प्रबल सेवाश्री मानपदवी प्राप्त संघका सदस्यलाई अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वहरुलाई अध्यक्ष वाग्लेले खादा ओढाउनुका साथै सम्मानपत्र हस्तान्तरण गरे ।

स्वागत मन्तव्यका क्रममा अध्यक्ष वाग्लेले कार्यक्रमको औचित्य प्रस्ट पार्दै नवौं परिषद्लाई सम्मान गरे । उनले आइक्यान, एक्यान, अडान, एसबी/एयुएसबीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लेखा व्यवसायको प्रवर्द्धन, सम्बर्धन र विकासमै काम गर्ने हुँदा यी संस्थाहरु एकआपसका साझेदार भएको बताए । ‘तसर्थ भातृत्व र फेलोसिप यी संस्थाहरुमा हुनु एकदमै जरुरी छ,’ अध्यक्ष वाग्ले भने । यो कार्यक्रमले त्यसको थालनी गर्ने उनको भनाइ थियो ।

सो अवसरमा लेखा व्यवसाय क्षेत्रमा योगदान गरेबापत एक्यानका पूर्वअध्यक्ष सिए नारायण बजाज र बैंक तथा सहकारी क्षेत्रमा योगदान पुर्याएबापत संघका आजीवन सदस्य, राष्ट्रिय सहकारी बैंकको कार्यकारी अधिकृत सिए बद्रीप्रसाद गुरागाईंले प्रबल सेवाश्री मानपदवीबाट सम्मानित सदस्यहरुलाई बधाई तथा शुभकामना प्रकट गरे ।

सम्मान कार्यक्रममा बोल्दै आइक्यानका नवनिर्वाचित अध्यक्ष युद्धराज ओलीले चार्टर्ड एकाउन्टेन्ट्सबीचको सहकार्यले समग्र पेसाको स्थायित्व कायम गर्न सहयोग गर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा अडानका अध्यक्ष मोहनराज रेग्मी, लेखामान बोर्डका अध्यक्ष महेश खनाल र लेखापरीक्षक बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले पनि आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा नेपाल सरकारको प्रबल सेवाश्री मानपदवीबाट विभूषित एक्यानका आजीवन सदस्य तथा राष्ट्रिय सहकारी बंैकका कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंको समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागीलाई संघका उपाध्यक्ष रमेशकुमार धितालले धन्यवाद ज्ञापन गरेको संघको विज्ञप्तिमा उल्लेख छ । एक्यानका अध्यक्ष वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव तेजप्रसाद सुवेदीले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय