चितवन– भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्ट्रिग्रेटेड ओपिडी सिस्टम लागू गरेको छ । यो सिस्टम लागू भएसँगै ओपिडीमा जाने बिरामीले सबै सेवा एकै ठाउँबाट पाउनेछन् । यससँगै अस्पताल पुगेपछि टिकट काट्न, जचाउने, विभिन्न परीक्षणको शुल्क तिर्ने, औषधि खरिद गर्ने लगायत कामका लागि बिरामी भौंतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरंग विभागमा पुगेपछि सबै सेवा त्यहीँबाट पाउने कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताए । उनले भने, ‘सेवाग्राहीले बिमा वा सःशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरिद गर्ने लगायतका सबै सेवा एकै ठाउँबाट पाउँछन् ।’ एसी (वातानुकूलित) कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाइ छ ।

अस्पतालको सबै विभागमा बीचमा खुल्ला ठूलो कक्ष तयार गरिएको छ । त्यहाँ बिरामी पालोको लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाइएको छ । सबै ठाउँमा शुद्ध पिउने पानीको समेत व्यवस्था गरिएको प्रधानले जानकारी दिए ।

त्यही कक्षबाट भिडियो एक्सरे, एमआरआई, सिटी, एक्सरे जस्ता सेवा लिनु पर्दा शुल्क त्यहीँ तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको उनले जानकारी दिए । उनले भने, ‘अब परीक्षण गर्ने ठाउँ खोज्दै जाने र लामो समय पालो कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।’ अन्य परीक्षण गर्दा समेत त्यहीँ रहेका कर्मचारीले सहजीकरण गरिदिने हुँदा बिरामीलाई सहज हुने उनले बताए ।

बिरामी कुर्ने ठाउँलाई व्यवस्थित बनाइएको छ । प्रधानले भने, ‘नेपालमा पहिलोपटक हामीले यो व्यवस्थापन लागू गरेका हौं ।’ उहाँका अनुसार भारतका ठूला अस्पतालमा मात्रै यो सुविधा रहेको छ । हालसम्म नेपालका अन्य अस्पतालहरु दिन नसकेको सेवा आफूहरुले गरेको उनको दाबी छ ।

अस्पतालमा ११ विभागका १९ वटा कक्ष एकीकृत सेवाका लागि तयार गरिएको छ । अस्पतालमा मेडिकल अन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्युरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलर लगायत सेवा रहेका छन् । यसैगरी, स्त्री तथा प्रसूती, बाल रोग, नाक–कान–घाटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् ।

हाल अस्पतालको बहिरंग सेवामा दैनिक ६५० भन्दा बढी सेवाग्राहीले सेवा लिइरहेका छन् । अस्पतालले वार्षिक ३ लाखभन्दा बढीलाई सेवा दिँदै आएको छ । २५ वर्षअघि यहाँ स्थापना गरिएको यस मेडिकल कलेजमा ५८५ शय्या सञ्चालनमा छन् । अस्पतालमा ९० वटा आइसियू, ६ वटा पिआइसियू, १० वटा एनआइसियू छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय