काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा ९५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार १० हजार ५७९ जनाको नमूना परीक्षण गर्दा ९५३ मा संक्रमण देखिएको हो ।
हाल देशभर सक्रिय संक्रमित १९ हजार ७०० छन् । पछिल्लो २४ घन्टामा एक हजार ३७१ ले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने संख्या सात लाख ५९ हजार ८७५ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.१ प्रतिशत छ ।
यस्तै संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ । हाल देशभर ३६३ सघन उपचारकक्ष (आइसियू), १०९ भेन्टिलेटर, १८ हजार ३४० होम आइसोलेसन, एक हजार ३६० संस्थागत आइसोलेसन र २३७ क्वारेन्टिनमा छन् ।
पछल्लो समय कोरोना भाइरसविरुद्धको खोप दुई लाख १६ हजार ७२५ जनाले लगाएका छन् । अहिलेसम्म ६५ लाख २८ हजार ३९२ ले पहिलो मात्रा र ६० लाख १४ हजार ९४१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।









