विराटनगर– उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलनको कार्य असोज १० बाट प्रारम्भ गरेको जनाएको छ ।
तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानको औद्योगिक तथ्यांक संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरिएको जानकारी दिँदै संगठनका अध्यक्ष सुयश प्याकुरेलले एकपटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने योजना रहेको बताए ।
संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्यांक संकलन गरिने कार्यक्रम रहेको संगठनका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिए ।
उनका अनुसार उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु लिएर ५ जना गणकहरु तथ्यांक संकलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्नेछन् । संगठनले तथ्यांकको गुणस्तरलाई मध्यनजर गर्दै गणकका लागि २ दिनको तालिम समेत सञ्चालन गरेको जनाएको छ । महानिर्देशक भट्टराईका अनुसार गणकहरुले मोबाइल एपबाट तथ्याकं संकलन गर्नेछन् । यसरी संकलन गरिएको तथ्यांकको गुणस्तर अनलाइनबाटै मोनिटर गर्न सकिने संगठनको विज्ञप्तिमा उल्लेख छ ।
फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्यांक संकलनको काम असोज महिनाभित्रमा सक्ने र मंसिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ ।
संगठनले तथ्यांक सकंलनका लागि खटिएर आउने संगठनका प्रतिनिधिलाई आफ्नो उद्योग व्यवसायसँग सम्बन्धित यथार्थपरक सूचना एवं तथ्यांक उपलब्ध गराई संगठनको औद्योगिक तथ्यांक र डाटाबेस तयार गर्ने यो अभियानमा साथ सहयोग गर्न संगठनका सदस्य उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा आग्रह गरेको छ ।









