काठमाडौं– दसैंका लागि सार्वजनिक यातायातका साधनको टिकट अग्रिम बुकिङ भोलिबाट खुल्ने भएको छ । यातायात व्यवसायीले दसैंको अग्रिम टिकट बुकिङ सोमबारदेखि खुलाउँदैछन । यातायात व्यवसायी र यातायात व्यवस्था विभागका पदाधिकारीबीचको बैठकले सोमबारदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले सोमबारदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला हुने बताए । महासंघका अनुसार उपत्यकामा एक दर्जनभन्दा धेरै ठाउँबाट टिकट बुकिङ गर्न सकिनेछ । काठमाडौं उपत्यकामा यात्रुले १४ ठाउँबाट अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।
नयाँबसपार्क, पुरानो बसपार्क, सुन्धारा गौशाला, चाबहिल, कोटेश्वर, सातदोबाटो, कुलेश्वर बल्खु, कलंकी लगायत स्थानबाट दसैंको लागि अग्रिम टिकट बुकिङ गर्न सकिनेछ । ‘उपत्यकामा मात्रै होइन, देशभरी नै अग्रिम टिकट बुकिङ खुला गर्दैछौं,’ वरिष्ठ उपाध्यक्ष स्वाँरले भने, ‘आफूलाई पायक पर्ने ठाउँबाट यात्रुले टिकट काट्न सक्छन् ।’
काठमाडौंको गोंगबु बसपार्क सञ्चालन गर्दै आइरहेको ल्होत्से बहुउद्देयीय प्रालिले पनि सोमबारदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला हुने जनाएको छ । प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यसपालिको दसैंको अग्रिम टिकट बुकिङ गत वर्षजस्तै आफैं उपस्थित भएर गर्नुपर्ने बताए ।
‘यो वर्षको दसैंको अग्रिम बुकिङ अनलाइनबाटै गर्ने तयारी गरेका थियौं । तर सकेनौं,’ उनले भने, ‘अग्रिम बुकिङ भौतिक रुपमै हुन्छ ।’ सोमबार विहान ६ बजेदेखि नै अग्रिम टिकटको बुकिङ खुला हुने बताइएको छ ।









