काठमाडौं– अवतरणका क्रममा चक्का (ल्यान्डिङ गियर) नखुलेपछि विराटनगरका लागि उडेको बुद्ध एयरको विमानलाई काठमाडौं फर्काएर सफल अवतरण गराइएको हो ।
चक्का नखुलेपछि उक्त विमानलाई फोर्स ल्यान्डिङ गराउन काठमाडौं ल्याइए पनि यहाँ आएपछि चक्का खुलेर सुरक्षित रुपमै अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।
फोर्स ल्यान्डिङका क्रममा हुनसक्ने सम्भावित दुर्घटना टार्न धावनमार्ग छेउछाउमा बारुणयन्त्र र एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो भने आकाशमा करिब दुई घन्टा होल्ड गराएर विमानमा रहेको इन्धन कम गराइएको थियो । सोही अवधिमा बारुणयन्त्र, एम्बुलेन्स तैनाथ गर्ने लगायत आवश्यक तयारी गरिएको विमानस्थल स्रोतको भनाइ छ ।
विमानमा सवार यात्रु र चालकदलका सदस्य सबै सुरक्षित रहेका छन् । उक्त विमानमा बालबालिकासहित ७३ जना यात्रु रहेको बुद्ध एयरले जनाएको छ ।









