काठमाडौं– नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ बीच आपसी सहकार्य विस्तार गर्ने समझदारी भएको छ । सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले समझदारीपत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
समझदारी अनुसार दुवै संस्थाले एक आपसमा सहयोग बढाउनेछन् । दुवै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकारवाला निकायसँग आपसी सहकार्यमा कार्य गर्नेछन् । दुवै संस्था मिलेर आफ्ना सदस्यको क्षमता अभिवृद्धिका लागि काम गर्ने पनि समझदारीपत्रमा उल्लेख छ । साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न पनि दुवै निकाय सहमत भएका छन् ।
अब परिसंघका विभिन्न समितिमा संघको तर्फबाट पदेन सदस्यको रुपमा प्रतिनिधित्व रहनेछ । यसैगरी, दुवै संस्थाका प्रदेश एवं जिल्ला तहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गर्ने समझदारीपत्रमा उल्लेख छ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सिएनआई अध्यक्ष अग्रवालले यो समझदारीले दुई निकायबीच आपसी सम्बन्ध विस्तार भई दुवैका सदस्यले लाभ लिन सक्ने बताए । संघका अध्यक्ष वाग्लेले अर्थतन्त्र विस्तारका लागि नीतिगत स्थिरता आवश्यक पर्ने भन्दै त्यसका लागि दुवै निकाय मिलेर अघि बढ्न सकिने बताए ।
कार्यक्रममा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं बैंकिङ समितिका सभापति अनलराज भट्टराई एवं संघका उपाध्यक्ष रमेशकुमार धिताल, महासचिव तेजप्रसाद सुवेदी र कोषाध्यक्ष सुशील घिमिरेको उपस्थिति थियो ।









