काठमाडौं– युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या हुने तथा प्रतिष्ठामा आँच पुर्याउने सामग्री प्रसार गर्ने चार युट्युबरलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।
उनीहरुले युट्युब च्यानलमार्फत पीडित महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता र फोटोसहितको विवरण प्रसारण गरेकाले पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दैनिक खबर नामको युट्युब च्यानलका सञ्चालक काठमाडौं, गोकर्णेश्वरका २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोट, सूर्यगढीका २७ वर्षे शिशिर अधिकारी, सिराइचुली मिडियाका सञ्चालक मोरङ, बेलबारी नगरपालिका वडा नं. ९ का पिंकला कार्की छिन् ।
त्यसैगरी, मोडर्न अनलाइन टिभी नामको युट्युब च्यानल सञ्चालक काठमाडौं, गोकर्णेश्वरका रोधन तामाङ पनि पक्राउ परेका छन् ।
आरोपितले आफ्नो युट्युब च्यानलमार्फत पीडित महिलाको तस्बिर सहित चरित्रहत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्याई उनीहरुप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेको प्रहरीको भनाइ छ ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमतिमा पक्राउ गरी सोही अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी ब्युरोका प्रवक्ता तथा सूचना अधिकराी नविन्द अर्यालले जानकारी दिएका छन् ।










