काठमाडौं– प्यान्डोरा पेपर्सले नेपालमा गैरकानुनी रुपमा आर्जन गरेको धन लुकाउन ‘ट्याक्स हेभन’ मुलुकमा पुर्याउने नेपालीको नाम सार्वजनिक गरेको छ ।
नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले अवैध आर्जनको रकम गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर लगानी गरेको खुलेको हो ।
गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ ।
आइसिआइजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका प्रतिष्ठित मानिने ठूला व्यापारिक घराना चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।
अमेरिकाको वासिङटन डिसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आइसिआइजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको कागजात अनुसार प्रतिनिधिसभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ । ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन् ।
यस्तै, अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ । गोल्छा अर्गनाइजेसन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिस भर्जिन आइल्यान्डमै कम्पनी छ ।
त्यसैगरी नेपाली नागरिकहरू अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर राना पनि अवैध सम्पत्ति विदेश पुर्याउनेको पंक्तिमा छन् ।
यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफले यहाँ अवैध रुपमा आर्जन गरको धन ट्याक्स हेभन मुलुक पुर्याएको खुलासा भएकोछ ।
नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाउँदैन । आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले विदेशमै आम्दानी गर्छ भने त्यहाँ लगानी गर्न पाउँछ । ती बाहेक अरु नेपाली नागरिकले विदेशमा लगानी गैरकानुनी हुन्छ । तर उनीहरुले त्यो कानुनविपरीत हुने गरी विदेशमा लगानी गरेका हुन् ।
‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐन विपरीत काम गरेमा ‘बिगो बमोजिम जरिवाना, ६ महिना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।









