काठमाडौं– सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा बदमासी गरेको आरोप खेपिरहेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
यसअघि सरकारले ढुंगानालगायत धितोपत्रका बोर्ड अन्य पदाधिकारी र नेपाल स्टक एक्सचेन्जका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले गरेको बदमासी छानबिन गरेको थियो । छानबिन समिति गठन गरेपछि सरकारले ढुंगानालाई निलम्बन गरेको थियो ।
यही विवादमा मुछिएका नेपाल स्टक एक्सचेन्जका सिइओ साउदले यसअघि नै राजीनामा दिइसकेका छन् । नेपाल धितोपत्र बोर्डमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका व्यवसायी चन्द्र ढकालले पनि बोर्ड छाडिसकेका छन् ।









