काठमाडौं– पछिल्ला दिनमा आएको भारी वर्षापछिको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयबाट आज बिहानसम्म प्राप्त विवरण अनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। सम्पर्कविहीन व्यक्तिको संख्यया धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।
अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा ६, डोटीमा सात, धनकुटामा ६, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको उनले जानकारी दिए । उनले पहिरोमा परेर हुम्लामा ६, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताए । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।
प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।
जसका कारण अहिले हाल देशको प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, वाग्मती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
बेमौसमको वर्षाले अर्बौं रुपैयाँ बराबरको खेतीबाली क्षति गराएको छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा उल्लेख्य योगदान गर्ने धानबालीमा ठूलो क्षति पुगेको छ । किसानले काटेर सुकाएको हजारौं बिघाको धानबाली पानीमा डुबेको विवरण प्राप्त भएका छन् ।









