काठमाडौं– अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घन्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ ।
‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । ‘अब दुहबी सबस्टेसनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिरहेका छौं ।’
प्रदेश नं १ का जिल्लाहरुमा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेसन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत् आपूर्ति बन्द भएको थियो । सबस्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्यु्त आपूर्ति सुचारु भइसकेको छ ।
उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए । सबस्टेसनमा रहेका चारवटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ ।
अत्तरिया–चमेलिया प्रसारण लाइन पनि सञ्चालनमा
वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा बन्द भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । अवरोध हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पर्ने अधिकांश भागमा विद्युत् आपूर्ति सुरु भएको छ ।









