हेटौंडा– वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा राजीनामा घोषणा गरेकी उनले पछि प्रदेशप्रमुख समक्ष राजीनामा बुझाएकी हुन् ।

विश्वासको मत नपाउने निश्चित भएपछि उनले राजीनामा दिने बताएकी हुन् । आजको वाग्मती प्रदेश सभा बैठकमा शाक्यलाई विश्वास छ या छैन भनी मत विभाजन गर्ने कार्यक्रम थियो । १०९ सदस्यीय वाग्मती प्रदेश सभामा मुख्यमन्त्री शाक्यको दल एमालेको बहुमत पुग्दैन । एमालेसँग ४३ प्रदेश सांसद छन् ।

२३ सदस्य रहेको नेकपा माओवादी केन्द्र, २२ सदस्य रहेको नेपाली कांग्रेस र १३ सदस्य रहेको नेकपा (एकीकृत समाजवादी)ले शाक्यलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा शाक्यले भनिन्, ‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु । आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो । मन्त्रीहरू र दलको बैठक पनि बसियो । यसैगरी जाँदा राम्रो हुन्छ भनेर मार्गप्रशस्त गरेकी छु ।’
नेकपा एमालेकी उपाध्यक्ष शाक्य भदौ २ मा मुख्यमन्त्री बनेकी थिइन् । सम्बोधनका क्रममा उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

अब वाग्मतीमा विपक्षी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे मुख्य मन्त्री बन्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय