काठमाडौं– आगामी मंसिर १ देखि नयाँ विद्युत् महसुल लागू हुने भएको छ । विद्युत् नियमन आयोगले मंसिर १ बाट लागू हुने गरी महसुल दर निर्धारण गरेको हो ।
आयोगले पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका घरेलु (गार्हस्थ) उपभोक्ताको हकमा मासिक ३० रुपैयाँ मात्र लाग्ने गरी महसुल निर्धारण गरेको छ ।
नयाँ विद्युत् महसुलबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले गार्हस्थ वर्गमा विद्युत् उपभोग बढाउन र बिजुलीको उचित मूल्य सुनिश्चित गर्न घरेलु वर्गको महसुल औसत २.८४ प्रतिशतले घटाइएको जानकारी दिए ।
विस्तृत अध्ययन, छलफल, विश्लेषण, सार्वजनिक सुनुवाइ, सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रियाका आधारमा महसुल निर्धारण गरिएको पनि उनले बताए ।
आयोगका अनुसार सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ ले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरिएको छ ।
सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी खपत गर्ने पाँच एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने घरेलु वर्गका उपभोक्ताको इनर्जी शुल्क साबिकको दरमा प्रतियुनिट ५० पैसा घटार्ई प्रतियुनिट ९.५० कायम गरिएको छ ।
सिंगल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत् खपत गर्ने गार्हस्थ वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाई प्रतियुनिट ११ कायम गरिएको प्रमुख आयुक्त सिंहले जानकारी दिए ।
आन्तरिक रूपमा विद्युत् खपत वृद्धि गराउन उपभोक्तालाई प्रेरित गर्ने नेपाल सरकारको नीतिअनुरूप सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ युनिटभन्दा बढी खपत गर्ने गार्हस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुलोजस्ता घरायसी उपकरण प्रयोगलाई प्रोत्साहन गर्न साबिकको भन्दा कम हुने गरी महसुल दर निर्धारण गरिएको उनको भनाइ छ ।
विद्युतीय सवारी साधनको उपयोग बढाउन थ्री–फेजबाट आपूर्ति लिने गार्हस्थ वर्गका उपभोक्ताको हकमा असारदेखि कात्तिकसम्म वर्षा यामको महसुल दर र मंसिरदेखि जेठसम्म सुक्खा यामको महसुल दर हुने गरी मौसमी दर कायम गरिएको छ ।
आन्तरिक रूपमा विद्युत् खपत वृद्धि गराउन उपभोक्तालाई प्रेरित गर्ने नेपाल सरकारको नीतिअनुरूप सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ युनिटभन्दा बढी खपत गर्ने गार्हस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुलोजस्ता घरायसी उपकरण प्रयोगलाई प्रोत्साहन गर्न साबिकको भन्दा कम हुने गरी महसुल दर निर्धारण गरिएको विद्युत् नियमन आयोगको भनाइ छ ।
आयोगका अनुसार थ्री–फेज तल्लो भोल्टेज (२३०/४०० भोल्ट) बाट आपूर्ति लिने गार्हस्थ वर्गका उपभोक्ताको हकमा मासिक ४०० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको बर्खाको इनर्जी शुल्क साबिकको दरमा प्रतियुनिट १ रुपैयाँले घटाई १० रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
त्यसैगरी, मासिक ४०० भन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको बर्खाको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाई प्रतियुनिट १० रुपैयाँ ५० पैसा र सुक्खा यामको इनर्जी शुल्क ५० पैसा घटाई प्रतियुनिट ११ रुपैयाँ ५० पैसा कायम गरिएको छ । आन्तरिक विद्युत् खपत वृद्धि गराउने नेपाल सरकारको नीतिअनुरूप तथा थ्री–फेजबाट विद्युत् उपभोग गर्ने गार्हस्थ वर्गका उपभोक्ताको समेत साबिकको भन्दा कम महसुल हुने गरी महसुल दर स्वीकृत गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
११/३३ किलो भोल्ट (केभी) बाट आपूर्ति लिई मासिक हजार युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ वर्गका उपभोक्ताको बर्खाको इनर्जी शुल्क साबिकको दरमा प्रतियुनिट ५० पैसाले घटाई प्रतियुनिट १० रुपैयाँ ५० पैसा कायम गरिएको आयोगले जनाएको छ ।
त्यस्तै, हजारभन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाई प्रतियुनिट १० रुपैयाँ ५० पैसा र सुक्खा यामको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँले घटाई प्रतियुनिट ११ रुपैयाँ कायम गरिएको छ । ट्युबवेल आदि सञ्चालन गर्न सिँचाइ उपभोक्ता वर्गको हकमा औसतमा ४०.६९ प्रतिशतले महसुल घटाइएको आयोगका सदस्य डा रामप्रसाद धितालले बताए ।
टिओडी मिटरमार्फत ३३ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको राति ११ बजेदेखि बिहान ६ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ १५ ले घटाई प्रतियुनिट २ रुपैयाँ कायम गरिएको छ । उनका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ७० पैसाले घटाई प्रतियुनिट ३ रुपैयाँ कायम गरिएको छ । टिओडी मिटरमार्फत ११ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको राति ११ बजेदेखि बिहान ६ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाई प्रतियुनिट २ रुपैयाँ कायम गरिएको छ ।
बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ६५ पैसाले घटाई प्रतियुनिट ३ रुपैयाँ १० पैसा कायम गरिएको छ । बिजुली प्रयोग गरेको समयका आधारमा (टिओडी) मिटर नराखी ३३ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २ रुपैयाँ ३० पैसाले घटाई प्रतियुनिट २ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
यसैगरी, टिओडीका आधारमा मिटर नराखी ११ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २ रुपैयाँ ३० पैसाले घटाई प्रतियुनिट २ रुपैयाँ ६० पैसा कायम गरिएको छ भने टिओडी मिटर नराखी २३०/४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २ रुपैयाँ ५ पैसाले घटाई प्रतियुनिट २ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
सामुदायिक थोक उपभोक्ताले आफ्नो ग्राहक संख्या गुणा ३० बराबरको मासिक न्यूनतम शुल्क बुझाउने गरी र सोबापत आफ्नो ग्राहक संख्या गुणा २० बराबरको युनिट विद्युत् ऊर्जा निःशुल्क प्राप्त गर्नेछन् । सोभन्दा बढी विद्युत् ऊर्जा परिमाणका लागि इनर्जी शुल्क साबिककै रहने गरी कायम गरिएको छ । अन्य उपभोक्ताको हकमा हालको महसुल दरमा कुनै परिवर्तन नगरिएको जानकारी दिइयो ।
साथै सिंगल फेज तथा थ्री–फेजबाट विद्युत् खपत गर्ने उपभोक्ताले मिटरको क्षमता वृद्धि गर्दा लाग्ने दस्तुर हटाइएको छ । भारतबाट अघिल्लो वर्ष प्राधिकरणले २१ अर्ब बराबरको विद्युत् आयात गरेकामा आगामी वर्ष त्यसलाई घटाएर करिब १२ अर्बमा सीमित तुल्याउने आयोगले प्रक्षेपण गरेको छ । भारतबाट हाल आयात ३१.४, विद्युत् प्राधिकरणको ३१.४ र निजी क्षेत्रबाट उत्पादित बिजुलीको हिस्सा ३७.२ रहेको छ ।
मुलुकमा हाल विद्युत् ग्राहक संख्या ४९ लाख ८९ हजार ४९४ छ । २० युनिटभन्दा कम खपत गर्ने न्यून आय भएका ग्राहकको संख्या १९ लाख ८६ हजार ५०७ छ ।









