काठमाडौं– नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति दिएको हो ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालनमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो ।

दुई विद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने जनाएको छ । हाल यो लाइनबाट बिजुली आयात मात्र भइरहेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको बेला आइआइएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको छ । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री–खरिदमा प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन् । ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तर प्रयासबाट नेपालमा खपत गरेर जगेडा रहेको बिजुली बिक्रीका लागि अनुमति पाएका छौं, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुंगा हो,’ उनले भनिन्, ‘हामीले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसीबाट उत्पादित बिजुली भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौं ।’

मन्त्री भुसालले दुई मुलुकबीचको विद्युत् व्यापारलाई अहिलेको अवस्थासम्म पु¥याउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारवाला निकाय धन्यवादको पात्र भएको बताइन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा अर्को इँटा थपिएको बताए ।

नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको बिजुली भारतीय बजारमा निर्यात सुरु भएसँगै नेपालमा जलविद्युत् विकासको ठूलो ढोका खुलेको छ । उनले भने, ‘विद्युत निर्यातको सुरुआत थोरै परिमाणबाट भए पनि चाँडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोसी लगायत अन्य आयोजनाको बिजुली पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौं ।’ उनले विद्युत् व्यापार सम्बन्धमा विभिन्न चरणमा दुई मुलुकका निकायबाट भएको पहल तथा सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले बिजुली बिक्री गर्नेछ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने बिजुलीको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ ।

विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा बिजुलीको प्रतियुनिट बिक्री दर तय हुनेछ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत् निर्यात हुनेछ । भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रतियुनिट बिजुलीको मूल्य २८ भारतीय रुपैयाँसम्म पुगेको थियो ।

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) ले गर्नेछ । एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय