सर्लाही– प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्यांक संकलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानुनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्यांक संकलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार छठ पर्व सकिएलगत्तै सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको विवरण संकलन गरी त्यस्ता सवारी साधन कहाँ र कसले सञ्चालन गरिरहेको छ सोको विवरण संकलन गर्ने काम हुनेछ । यसैगरी उक्त कार्यालयले जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला पनि बनाएको छ ।

घुमुवा प्रहरीले जिम्मेवारी अनुसारको काम नगरेर संगठनकै बदनाम गर्न थालेकाले आपराधिक गतिविधि र अन्य घटनाको सूचना संकलनका लागि परिचालित यस्ता घुमुवा प्रहरी हटाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

उनका अनुसार अनौपचारिक पोसाकमा कार्यरत प्रहरीले आचारण विपरीत काम गर्दै संगठनकै बदनाम गराउन थालेकाले हटाइएको हो । ‘जिल्लाबाट मातहतका युनिटमा खटाइएका चार यस्ता प्रहरीले सूचना दिनेभन्दा बढी बदनाम गर्ने काम गरे, म आएपछि उनीहरुलाई हटाइसकेको छु,’ उनले भने, ‘अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका युनिटबाटै विशेष प्रहरी टोली परिचालन हुनेछ ।’

स्थानीयवासी, तालुक कार्यालय, सञ्चारकर्मी लगायतबाटै सूचना लिएर शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको उपरीक्षक प्रसाईंले बताए । उनका अनुसार यसअघि अनौपचारिक रूपमा खटाइएका प्रहरीलाई पोसाक लगाएरै नियमित डिउटीमा लगाइसकिएको छ ।

प्रहरी उपरीक्षक प्रसाईं जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भए लगत्तैदेखि जिल्लामा रहेका घुमुवा प्रहरी हटाउने तयारीमा थिए । उनले प्रहरी संगठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सीमा नाकाका पोस्ट कमाउनका लागि मात्र होइन सेवा पनि गर्नुपर्छ भन्ने मनसाय बनाउन उनले माताहतका प्रहरी कर्माचारीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय