काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले समाजवादउन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा जोड दिएका छन् । उनले आगामी बजेटमार्फत करनीतिमा आमूल परिवर्तन गरिने जानकारी पनि दिएका छन् ।

आइतबार राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवादउन्मुख अर्थतन्त्र निर्माण हुन्छ भन्दै त्यसअनुसारको नीति बनाउनुपर्ने बताए ।

‘कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवादउन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस्,’ उनले भने ।

उनले व्यक्तिको कमाइका आधारमा कर संकलन गर्नुपर्ने बताए । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । यस विषयमा प्रतिस्थापन विधेयकमार्फत व्यवस्था गर्न नसके पनि आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गर्ने उनले जानकारी दिए ।

‘आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ,’ मन्त्री शर्माले भने, ‘हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस् । कर बुझाउन स्वयं व्यक्ति आउने वातावरण बनाउने व्यवस्था बनाउनुस् ।’

उनले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय