काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् खपत बढाउन विद्युतीय गाडी र इन्डक्सन चुलो खरिदमा सहुलियत बढाउने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को १९ र २०औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले स्वदेशमा उत्पादित बिजुली खपत बढाउनेतर्फ अघि बढ्न सबैलाई अनुरोध पनि गरे ।

उनले स्वदेशमा उत्पादन भएको बिजुली निर्यात गर्नभन्दा स्वदेशमा नै खपत बढाउन सरोकारवाला निकायलाई निर्देशन दिए । ‘नेपालमा उत्पादन भएको बिजुली नेपालमै खपत गर्नुपर्छ,’ उनले भने, ‘नेपालको बिजुली भारतले किन्छ भन्ने केही छैन ।’

प्रधानमन्त्री देउवाले भारतले नेपालको बिजुली पर्याप्त किन्छ भन्ने कुनै आधार नभएकाले आफ्नै मुलुकमा खपत गराउने कार्यक्रम अघि बढाउने बताए । ‘नेपालले आफ्नो बिजुली आफैं खपत गर्ने वातावरण तय गरेर अघि बढ्नुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘अरुले किन्देला कि भनेर बस्ने होइन, हामी आफैंले विद्युतीय गाडी तथा इन्डक्सन चलाएर खपत बढाउनुपर्छ ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुुलकमा पर्याप्त मात्रामा बिजुली उत्पादन भए पनि बिजुलीको माग र खपत बढाउन नसकेको बताइन् । सरकारले आन्तरिक खपत बढाउने योजना बनाइरहेको उनको भनाइ छ । तीन वर्षदेखि रोकिएको पिपिए खुलाउने पनि उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय