जनकपुर– लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारवाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए ।

‘कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गर्न थालेका छौं,’ उनले भने, ‘दोस्रो चरणमा पत्राचार गरिने र अन्तिममा सूचना प्रकाशन गरी बैंक खाता रोक्का गर्नेलगायत कारबाही गर्छाैं ।’ अघिल्लो आर्थिक वर्ष ०७७–७८ मा कर नबुझाउने ५० करदातामाथि कारबाही गरिएकामा यस वर्ष पनि कारबाही अघि बढाएको प्रमुख यादवको भनाइ थियो ।

उक्त कार्यालयले चालु आव ०७८–७९ को चार महिनामा एक अर्ब ७३ लाख २८ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा २०८ प्रतिशत हो । सो कार्यालयले यस अवधिमा ८३ करोड १८ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो ।

चालु आव ०७८–७९ मा तीन अर्ब ८९ करोड ७२ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा र चार महिनामै लक्ष्यको ५५ प्रतिशत राजस्व संकलन भइसकेको प्रमुख यादवले बताए ।

आयकरतर्फ ३१ हजार ९००, व्यक्तिगततर्फ ५७ हजार ३७६ र अन्तःशुल्कतर्फ एक हजार ३४८ गरी ९८ हजार ९४ करदाता रहेको कार्यालयले जनाएको छ ।

यसैबीच, कार्यालयले चार जिल्लाका चार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताहअन्तर्गत धनुषाका क्षीरेश्वर डिस्टिलरी, महोत्तरीको अल्का वायर प्रालि, सिन्धुलीको सिद्धबाबा कन्ट्रक्सन र सर्लाहीको नेपाल भेनियर उद्योगलाई सम्मान गरिएकोे हो । आन्तरिक राजस्व विभागले निर्धारण गरेको मापदण्डअनुसार राजस्वमा योगदान पुर्याउने, समयमा सही वितरण बुझाउने, बक्यौता बेरुजु नराख्ने र कुनै प्रकारको दण्ड जरिवाना नतिरेकामध्येबाट उत्कृष्ट करदाता छनोट गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय