काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३२०० भन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै बिहीबार २४४९.९७ बिन्दुमा कारोबार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्जको तथ्यांक अनुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिन्छ । चालु आवको पहिलो कारोबार दिन साउन ३ गते २९८०.६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर निरन्तर घटिरहेको छ ।
उच्च बिन्दुबाट बजार २३ प्रतिशतभन्दा बढीले घट्दा लगानीकर्ताको १० खर्ब बढीकोे सम्पत्ति गुमेको छ । नेप्से परिसूचक उच्चतम हुँदा ४४ खर्ब ६८ अर्बको बजार पुँजीकरण बिहीबारको कारोबारपछि ३४ खर्ब ४४ अर्बमा खुम्चिएको छ । तीन महिना २० दिनकै अवधिमा लगानीकर्ताले उक्त परिमाणमा सम्पत्ति गुमाएका हुन् । परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ । गत साउन ३१ गते दैनिक कारोबार रकम २१ अर्बभन्दा बढी भएकामा बिहीबार दुई अर्ब ६७ करोडमा सिमित हुन पुगेको छ ।
सेयर बजारमा नेप्सेका साथै कारोबार घट्दा लगानीकर्तामा निराशा छाएको छ । अझ नयाँ लगानिकर्ता अन्योलमा रहेको देखिन्छ । साना लगानीकर्ता बजारमा त्यत्ति खुल्न सकेका छैनन् । बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्राथमिक सेयरबाट आइपिओ भर्न सुरु गरेका भक्तपुरका माधव ढकाल साथीको सहयोगमा दोस्रो बजारमा छिरेका थिए । ‘सुरुमा राम्रै कमाइ भयो, कमाइ देखेर सापटी मागेर अरु रकम यसमा लगाएँ अहिले घाटामा छु, बेच्न नि घाटा छ, सस्तोमा किन्न पैसा छैन,’ उनी भन्छन् ।
सेयर बजारका बादशाह भनेर चिनिने लगानिकर्ता निर्मल प्रधान बजार घटबढ हुनु स्वाभाविक भएको र बुझेर लगानी गर्न सुझाव दिन्छन् । आम लगानीकर्ता बजार घट्दा आत्तिने र बढ्दा मात्तिने गर्छन् जुन सही होइन, बजार केही समय घट्छ र पछि बढ्छ पनि त्यसैले धैर्य आवश्यक हुने बताउँदै सरकार र नियामक निकाय पनि सेयर बजारको दिगो विकास तथा विस्तारमा संवेदनशील हुन जरुरी रहेको धारणा राख्छन् ।
नेपालको पुँजी बजारमा तरलताले विशेष प्रभाव पारेको देखिन्छ । बैंकिङ प्रणालीमा तरलताको चाप पर्दा बजार घट्ने गरेको देखिन्छ । ‘जब बैंकमा तरलता बढी हुन्छ, उनीहरु सस्तो ब्याजदरमा सेयर कर्जा दिन थाल्दछन्, ठूला लगानीकर्ता त्यसको प्रयोग गर्छन्, जसले कारोबार बढी हुन्छ र बजार बढ्छ, तर जब तरलता संकट आउँछ उनीहरु निक्षेप बढाउन व्याजदर बढाउने र कर्जा दिन नसक्ने अवस्थामा पुग्छन् तब सेयर कारोबार घट्ने गरेको छ,’ प्रधान अनुभव सुनाउँछन् ।
साना लगानीकर्ता डरमा, ठूला पर्ख र हेरको अवस्थामा
सिडिएस एन्ड क्लियरिङका अनुसार धितोपत्र कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्नेको संख्या ४७ लाख नाघिसकेको छ भने मेरो सेयर प्रयोगकर्ता ३८ लाखभन्दा बढी छन् । ४७ लाख लगानिकर्तामध्ये संख्याका आधारमा साना लगानीकर्ताको अत्यधिक बृद्धि भएको देखिन्छ । गएको एक वर्षको अवधिमा चिया पसलदेखि कार्यालयको बैठकको समयमा समेत पुँजी बजारका बारेमा बहस चल्न थालेको अवस्था छ ।
सेयर बजार स्वतन्त्र रुपमा माग र पूर्तिका आधारमा चल्नुपर्नेमा लगानीकर्ता संरक्षण चौधरी जोड दिन्छन् । हाल गृहणी र महिला लगानिकर्ताको संख्यासमेत बढेको छ, सानोसानो पुँजी जम्मा भएर नै दैनिक कारोबार करिब २२ अर्ब पुगेको थियो । त्यस्ता साना र नयाँ सेयर लगानीकर्ताको लगानीको सुरक्षामा सरकार तथा नियामक विशेष रुपमा सजग हुनुपर्ने चौधरीको भनाइ छ ।
घटेको बजारमा साना र त्यसमाथि नयाँ लगानीकर्ताको सम्पत्ति घट्दै जाँदा उनीहरुमा डर देखिएको स्वयं लगानिकर्ता स्वीकार्छन् । यस्तोमा बजार घट्नेमात्र नभई राम्रा प्रतिफल दिने कम्पनीमा गरेको लगानीमा डराउन नहुने र सेयर बजारमा लगानी गर्दा धैर्यता राख्नुपर्नेमा लगानीकर्ता छोटेलाल रौनियारको जोड छ ।
‘बजार विस्तार भएको छ, कारोबार प्रविधिमैत्री हुँदैछ, डिम्याट र मेरो सेयरका साथै सेयर कारोबार गर्न टिएमएसको प्रयोगकर्ता दिनदिनै बढेको अवस्था छ, यसले बजारमा सकारात्मक प्रभाव पारेको र अझ यसको विकास तथा दिगोपनाका लागि नियामकले लगानिकर्ताको हितलाई ध्यान दिएर नीति बनाएर बजारको नियमन गर्ने वातावरण बने बजारको भविष्य राम्रो रहेको छ,’ शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा रौनियारले भने । उनले बजारमा राम्रो सम्भावना रहेको र पुँजी बजारको विकास तथा विस्तारमा सबै लगानिकर्ता एकजुट भएर बजार अनुकूल हुँदा आवेशमा नआउन र प्रतिकूल हुँदा धैर्य हुन आवश्यक हुने बताए ।
जुट्दै लगानीकर्ता संघ
नेपालको पुँजी बजार जब घट्न थाल्छ, तब सेयर बजार सुधार गर्ने नाममा विभिन्न कार्यक्रमसहित लगानिकर्ता मिलेर संघ खोल्दै आन्दोलन गर्ने गरेका छन् । छोटो समयमा नै यस्ता संघ धेरै बनेको अवस्थामा पछिल्लो समय सबै मिलेर अगाडि बढ्ने भन्दै जुट्न थालेको देखिन्छ । शुक्रबार आयोजित ‘पुँजी बजारको संकट र समाधानको सूत्र’ नामक छलफल कार्यक्रममा अग्रज लगानीकर्ताका साथै सबै संगठनका पदाधिकारीले पनि मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अग्रज सेयर लगानीकर्ता निर्मल प्रधान, छोटेलाल रौनियार, अम्बिकाप्रसाद पौडेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल, पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की लगायतको सहभागिता थियो । कार्यक्रममा सबैले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न सम्पूर्ण लगानीकर्ता एकजुट हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा सेयर कारोबारमा मार्जिज ट्रेडिङको कार्यान्वयन, सेयर कर्जामा लगाइएको चारदेखि १२ करोडसम्मको सीमा पुनर्विचार, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ति लगायतका तीन वर्षअघि भएको ५८ बुँदे मागको चाँडोभन्दा चाँडो सम्बोधन गर्न सबै लगानीकर्ता एक भएको अध्यक्ष ढकालले बताए । पुँजी बजारमा देखिएका समस्या समाधान र यसको विकास तथा विस्तारका लागि लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल समेत बनेको छ ।









