काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९.१३ प्रतिशत र निर्यात ९५५.४८ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाखको निर्यात गरेको थियो । निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ ।

व्यापार घाटा चुलिँदै
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो ।

यसैगरी, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार ७ खर्ब २२ अर्ब ४५ करोडको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४.८६ प्रतिशतले बढी हो ।

१४१ देशबाट आयात
चालु आवको पहिलो ६ महिनामा नेपालमा १४१ देशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट सो अवधिमा ६ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ ।

भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट १ अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ ।

यसैगरी नेपालले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भारततर्फ ९६ अर्ब ५६ करोड तथा चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय