काठमाडौं– वाणिज्य बैंकका साहुजीहरुको संस्था बैंक तथा वित्तीय संस्था महासंघ (सिबिफिन) ले अघि सारेका मागमा आयातकर्ता व्यवसायीहरुले गम्भीर आपत्ति जनाएका छन् । आयातकर्ता व्यवसायीहरुको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले मंगलबार एक विज्ञप्ति जारी गरी सिबिफिनका मागमा आपत्ति जनाएको हो ।
सिबिफिनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयातको प्रतीतपत्र (एलसी)खोल्दा शतप्रतिशत नगद मार्जिन माग गर्ने, विदेशबाट आयात हुने विभिन्न वस्तुको भन्सार महसुल बढाउनुपर्ने लगायत माग अघि सारेको थियो ।

ती मागलाई संघले आपत्तिजनक भन्दै पूरा भएको खण्डमा अतिआवश्यक वस्तुको आपूर्ति अवरुद्ध हुनुका साथै राजस्व र रोजगारीमा समेत गम्भीर नकारात्मक असर पर्ने जनाएको छ ।

सिबिफिनले तरलता संकट समाधानका नाममा वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था लागू गर्न माग गरेको र उक्त माग पूरा भएको खण्डमा दैनिक जीवनका अति आवश्यक वस्तुको लागत चर्को पर्न गई ती वस्तुमा आम नागरिकको पहुँच नपुग्ने अवस्था सिर्जना हुनेछ एकातिर भने अर्कोतिर आयातमा निर्भर मुलुकको राजस्वमै गम्भीर धक्का लाग्ने संघले जिकिर गरेको छ । ‘उक्त प्रावधानले मुलुकको आपूर्ति प्रणालीलाई सामान्य राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका साना तथा मझौला आयातकर्ता विस्थापित भई रोजगारीमा समेत गम्भीर धक्का लाग्ने सम्भावना रहन्छ,’ संघले भनेको छ ।

सिबिफिन जस्तो जिम्मेवार संस्थाबाट मुलुकको राजस्वको प्रमुख स्रोत तथा लाखौं रोजगारीको आधारको रुपमा रहेको आयात व्यापार नै ध्वस्त हुनेतर्फ सोचविचार नहुनुलाई यस संघले बिडम्बनाको रुपमा लिएको पनि संघको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, सिबिफिनले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर आयातमा लाग्ने भन्सार महसुल बढाउन सुझाएको आरोप संघले जनाएको छ । ‘बैंक, वित्तीय संस्थाको प्रतिनिधित्व गर्ने संगठनबाट भन्सार बढाउन वा घटाउन माग गरिनु आफैंमा बिडम्बनापूर्ण छ,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘यसै त चर्को भन्सार दर, उच्च ढुवानी लागत जस्ता कारणले जीवन निर्वाहका क्रममा आवश्यक पर्ने वस्तुका लागि अन्य मुलुकको तुलनामा चर्को मूल्य तिर्न बाध्य आम सर्वसाधारणलाई महँगीको भार थप्ने खालको मागले सर्वसाधारणबाट बचत संकलन गरी त्यसलाई कर्जाको रुपमा उद्यमी, व्यवसायी र सर्वसाधारणमाझ परिचालन गरी नाफा कमाउने बैंक, वित्तीय संस्थालाई नै अप्ठेरो पर्न सक्नेतर्फ सामान्य विषयमा समेत ध्यान नपुग्नुलाई यो संघले अर्को आश्चर्य मानेको छ ।’
संघ सिबिफिनले अघि सारेका मागहरु अविलम्ब फिर्ता लिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय