काठमाडौं– लगानी बोर्डले डोटीको दिपायल सिलगढी नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकामा क्रमशः अनुमानित १२५ मेगावाट तथा २२५ मेगावाट गरी जम्मा ३५० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि अनुमानित लागत २३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने गरी परियोजना विकासका सम्बन्धमा सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई सम्भाव्यता अध्ययनको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न बोर्डको ४९औं बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी, बैठकले डाबर नेपाल प्रालि उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको निर्माण, स्वमित्वकरण, सञ्चालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छानिएको प्रस्तावक कम्पनी एसजेभिएन लिमिटेड इन्डियाले पेस गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

साथै, बैठकले लगानी प्रवर्द्धनका सम्बन्धमा विभिन्न संघ–संस्थासँग समझदारीपत्र गर्न कार्यालयलाई अख्तियारी दिएको छ । त्यसैगरी जेनेभास्थित वर्ल्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स (डब्लुएपिपिपी) को सदस्यता ग्रहण गर्न समेत स्वीकृति प्रदान गरेको छ । बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा प्रधानमन्त्री देउवाले लगानीकर्ता आकर्षित गर्न आवश्यक नीतिगत तथा कानुनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताए । साथै आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा विविधीकरण गरी सम्भाव्यता अध्ययन सम्बन्धी कार्यलाई तीव्र रुपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिनका लागि निर्देशन समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय