काठमाडौं– पछिल्लो समय मुलुकको विदेशी विनियम सञ्चिति नाजुक अवस्थामा पुगेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार देशको ढुकुटीमा करिब साढे ६ महिनाको मात्र आयात धान्न पुग्ने विदेशी मुद्रा छ । उसका अनुसार गत पुस मसान्तसम्ममा मुलुकको कुल विदेशी विनिमय सञ्चिति घटेर ११६५ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । यसले अहिलेको अनुपातको वस्तु आयात ७.२ महिना र वस्तु तथा सेवा आयात गर्न ६.६ महिनालाई मात्र पुग्छ ।
पछिल्लो समय विदेशी विनियम सञ्चिति क्रमशः घटेर करिब साढे ६ महिनाको मात्र आयात धान्न पुग्ने अवस्थामा आइपुगेको हो । गत असार मसान्तको तुलनामा पुसमा विदेशी मुद्रा सञ्चिति १६.७ प्रतिशतले घटेको छ । गएको असारमा १३९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति १६.७ प्रतिशतले घटेर पुस मसान्तमा ११६५ अर्ब ८० करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा पुस मसान्तमा १५.९ प्रतिशतले घटेर ९ अर्ब ८९ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा पुस मसान्तमा १८.४ प्रतिशतले घटेर १०१५ अर्ब ५९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड विदेशी विनिमय सञ्चिति रहेकोमा पुस मसान्तमा २.७ प्रतिशतले कमी आई १५० अर्ब २१ करोड कायम भएको छ ।
चालु आर्थिक वर्ष २०७८–७९ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ । ६ महिनाभन्दा कम अवधिको आयात धान्न पुग्ने गरी विदेशी मुद्रा सञ्चिति घट्नु अर्थतन्त्रका लागि हितकर मानिँदैन ।
आयातको तु्लनामा निर्यातको आकार सानो हुनु, पर्यटक आगमनमा सुधार नआउनु र विप्रेषण आप्रवाहमा कमी आउनु जस्ता कारणले विदेशी विनियम सञ्चित घटेको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष साउनदेखि पुससम्मको ६ महिनामा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेको छ ।
आयात बेपत्ता बढेको छ । यस अवधिमा ९९९ अर्ब ३४ करोडको वस्तु आयात हुँदा निर्यात ११८ अर्ब ८५ करोडमा सीमित छ । निर्यात अघिल्लो वर्षको तुलनामा ९५.५ प्रतिशतले बढे पनि आयातको तुलनामा यसको आकार निकै सानो हुँदा यसले विदेशी मुद्रा आर्जनमा खासै भूमिका खेल्न सकेको छैन । बढ्दो आयातले देशको ढुकुटीमा रहेको विदेशी मुद्रा सिध्याइरहेको छ । तर त्यसको पूर्ति गर्ने विप्रेषण र पर्यटक आगमन घटेको छ भने निर्यातको आकार सानो छ । जसले गर्दा नियमनकारी नियकाले हस्तक्षेप गरेनन् भने आगामी दिनमा विदेशी मुद्रा सञ्चिति झन् झन् घट्ने निश्चित छ ।
विदेशी मुद्रा सञ्चितिमा आएको कमीले सरकारलाई अप्रिय निर्णय लिन बाध्य पार्ने विज्ञहरु अनुमान गर्छन । सरकारले यसअघि नै विभिन्न १८ थरि वस्तु आयातको लागि एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिसकेको छ । विदेशी विनिमय सञ्चितिमा सुधार आए यो व्यवस्था खाजेर गर्ने केन्द्रीय बैंकका गभर्नरले बताइरहे पनि स्थिति उल्टो देखिएको छ ।









