काठमाडौं– मुलुकको चालु खाता घाटा ४१३ अर्ब ८६ करोड पुगेको छ । गत वर्ष माघसम्ममा १०४ अर्ब ३९ करोड रहेको चालु खाता घाटा यसपालि बढेर झन्डै पाँच खर्ब पुगेको हो ।

उच्च दरले बढे पनि आयातको तुलनामा निर्यातको आकार सानो हुँदा चालु खाता घाटा बढेको हो । चालु खाता भनेको मुलतः कुनै पनि मुलुकभित्र आयात हुने र त्यो मुलुकबाट निर्यात हुने सेवा र वस्तुको मूल्यको हिसाब राख्ने खाता हो । सेवा र वस्तुको आयातभन्दा निर्यात बढी भए चालु खाता बचतमा जान्छ, कम भए घाटामा जान्छ ।

यसमा विदेशमा गरेको लगानीको ब्याज, लाभांश र विदेशी सहायताको पनि हिसाब राखिने गरे पनि कुल चालु खातामा यी क्षेत्रको योगदान निकै थोरै हुन्छ । चालु खाताले कुनै पनि मुलुकको विदेशसँग हुने कारोबारको प्रतिनिधित्व गर्छ । यो मुलुकको भुक्तान सन्तुलनको एउटा घटक पनि हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको गत माघसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार अमेरिकी डलरमा अघिल्लो वर्ष माघ मसान्तसम्ममा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता यस वर्ष सोही अवधिमा ३ अर्ब ४७ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट बैंकले समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई ६ अर्ब ३१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८०.६ प्रतिशतले वृद्धि भई १६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ८३ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब २ करोड रहेको थियो ।

समीक्षा अवधिमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३.०८ अर्ब (अमेरिकी डलर ११०.४२ मिलियन) एक्सटेन्डेड क्रेडिट फसिलिटी प्राप्त भएको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २४७ अर्ब ३ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय