काठमाडौं– आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच आज काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायता कक्ष समेत स्थापना गरिने छ । सहायता कक्षको सञ्चालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिनेछ ।

समझदारी अनुसार महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रिय रुपमा आफनो माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्नेछ । त्यसैगरी महासंघले स्वदेश तथा विदेशमा लगानीसम्बन्धी रोड सोका अतिरिक्त महत्त्वपूर्ण गतिविधि आयोजनामा सहयोग गर्नेछ ।

त्यसैगरी लगानी प्रवर्द्धनका दिशामा सार्वजनिक–निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानीसम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् भने एफडिआई तथा लगानी प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रदर्शनी, गोष्ठी, कार्यशाला, तालिम र यस्तै प्रकारका अन्य गतिविधि आयोजनामा महासंघले बोर्डलाई प्रत्यक्ष सहयोग गर्नेछ ।

महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिले लगानी प्रवर्द्धनका लागि तयार गर्ने सवै दस्तावेजमा बोर्डले पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले लगानीसम्बन्धी तथ्यांक, प्रतिवेदन, संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, बाह्य लगानी आकर्षणमा देखापरेका चुनौती तथा अवसरहरु र सार्वजनिक–निजी साझेदारीमा लगानीसम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् । महासंघले लगानीका अवसरसम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सबै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय